
काठमाडौं । अखिल नेपाल फुटबल संघ -एन्फाले अर्को महिनाका लागि तोकेको निर्वाचनका लागि मागेको स्वीकृति राष्ट्रिय खेलकुद परिषद्-राखेपले अस्वीकार गरेको छ ।
राखेपले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ र नियमावली, २०७९ अनुसार आगामी साधारण सभाबाट एन्फाको विधान संशोधन स्वीकृत गरी विधान र प्रचलित कानुन बमोजिम मात्र निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिदै गर्दै ११ बुादे सुझावसहित पत्राचार गरेको छ ।
एन्फाले माघ २८ गते झापामा केन्द्रिय कार्यसमितिको मात्र निर्वाचन गर्ने निर्णय गरेपछि विवाद चर्किएको थियो । सोही निर्वाचनका लागि स्वीकृति र प्रतिनिधि पठाइदिन एन्फाले राखेपमा निवेदन दिएको थियो । तर राखेपले संघको विधानको धारा ३३ देखि ३७ अनुसार साधारण सभाबाट संशोधित र स्वीकृत विधानकै आधारमा निर्वाचन हुनुपर्ने स्पष्ट पारेको छ ।
राखेपका अनुसार एन्फाले आधार बनाएको विधानको धारा ३१-त रिक्त पद पूर्तिका लागि मात्र लागू हुने भएकाले त्यसका आधारमा केन्द्रिय निर्वाचन गर्न नमिल्ने ठहर गरेको छ । एन्फाभित्र केन्द्रिय मात्र वा तहगत निर्वाचन गर्ने विषयमा मतभेद रहँदै आएको छ । संस्थापन पक्षले केन्द्रिय निर्वाचन मात्र गर्न सकिने दाबी गर्दै आएको छ भने अर्को पक्षले तहगत निर्वाचन अनिवार्य हुनुपर्ने अडान लिएको छ ।
राखेपले पठाएको पत्रको बुँदा नम्बर ७ मा प्रदेश र जिल्ला संघहरू राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २३ र २४ अनुसार गठन गरी तहगत निर्वाचनमार्फत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ ।