नोभाक जोकोभिचले एडिलेड इन्टरनेसनल नखेल्ने

पुस २२, २०८२ |खेल ब्युरो
नोभाक जोकोभिचले एडिलेड इन्टरनेसनल नखेल्ने

काठमाडौं । स्टार टेनिस खेलाडी नोभाक जोकोभिचले अष्ट्रेलियन ओपनअघि खेल्ने तय गरिएको वार्म-अप प्रतियोगिता एडिलेड इन्टरनेसनल नखेल्ने भएका छन् । 

शारीरिक रूपमा पूर्ण रूपमा तयार नभएको भन्दै उनले प्रतियोगिताबाट नाम फिर्ता लिएको जनाएका हुन् । यसअघि ३८ वर्षीय सर्बियन स्टार जोकोभिचले अर्को साता हुने एडिलेड इन्टरनेसनलमा सहभागिता जनाउने तालिका थियो । तर अन्तिम सयममा फिटनेसका कारण उनी प्रतियोगिताबाट बाहिरिएका हुन् ।

जोकोभिच २०२६ को अष्ट्रेलियन ओपन जित्दै २५औं ग्रान्डस्लाम एकल उपाधि जित्ने लक्ष्यमा छन् । हालसम्म २४ वटा ग्रान्डस्लाम जितिसकेका जोकोभिचले १० पटक अष्ट्रेलियन ओपनको उपाधि जितेका छन् । तर पछिल्ला दुई सहभागितामा उनी सेमिफाइनलमै सीमित भएका थिए । पछिल्लो समय उनले आफ्नो तालिका सीमित गर्दै ग्रान्डस्लामलाई प्राथमिकता दिँदै आएका छन् ।

विश्व वरियताको चौथो स्थानमा रहेका जोकोभिचले सन् २०२३ को यूएस ओपनपछि कुनै पनि ग्रान्ड स्लाम जित्न सकेका छैनन् । यद्यपि, गत वर्ष उनी चारै ग्रान्ड स्लामको सेमिफाइनलसम्म पुगेका थिए । फ्रेन्च ओपन र विम्बल्डनमा उनी यानिक सिनरसँग पराजित भएका थिए भने यूएस ओपनमा कार्लोस अल्काराजसँग हार बेहोरेका थिए । 

गत जनवरीमा मेलबर्नमै अलेक्जेन्डर ज्भेरेभसँगको सेमिफाइनल खेलमा चोटका कारण उनले वाकओभर दिनु परेको थियो । जोकोभिचले गत वर्ष एटीपी टुरका दुई उपाधि जित्दै आफ्नो कुल करिअर उपाधि संख्या १०१ पुर्‍याएका थिए ।