म्यानचेस्टर युनाइटेडद्वारा मुख्य प्रशिक्षक रुबेन अमोरिम बर्खास्त

पुस २१, २०८२ |खेल ब्युरो
म्यानचेस्टर युनाइटेडद्वारा मुख्य प्रशिक्षक रुबेन अमोरिम बर्खास्त

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षक रुबेन अमोरिमलाई बर्खास्त गरेको छ। 

क्लबले बुधबार बर्न्लीविरूद्ध हुने प्रिमियर लिग खेलका लागि ड्यारेन फ्लेचरलाई अन्तरिम रूपमा टोलीको जिम्मेवारी दिँदै रुबेनलाई बर्खास्त गरेको जानकारी दिएको हो। अमोरिमले शुक्रबार क्लब नेतृत्वसँगको सम्बन्ध सहज नरहेको संकेत गरेका थिए। उनले ट्रान्सफर बजारमा आफूलाई पूर्ण समर्थन नहुने बताउँदै असन्तुष्टि व्यक्त गरेका थिए। 

आइतबार लिड्स युनाइटेडसँग १-१ को बराबरीपछि उनले आफू प्रशिक्षक होइन प्रबन्धकका रूपमा काम गर्न चाहेको र १८ महिनापछि सम्झौता सकिँदा क्लब छाड्न तयार रहेको बताएका थिए। त्यसको २४ घन्टाभित्रै युनाइटेडले आमोरिमले मुख्य प्रशिक्षकको भूमिकाबाट बिदा लिएको घोषणा गर्‍यो। 

क्लबको विज्ञप्तिमा प्रिमियर लिग तालिकामा छैटौँ स्थानमा रहँदा उच्च सम्भावित स्थान हासिल गर्न परिवर्तन आवश्यक ठानेर निर्णय गरिएको उल्लेख छ। यस सिजन आमोरिमको नेतृत्वमा पर्याप्त सुधार वा प्रगति देखिन नसकेको ठहर क्लबले गरेको हो। ४० वर्षीय आमोरिम नोभेम्बर २०२४ मा नियुक्त भएका थिए र ६३ खेलमध्ये २५ जित हात पारेका थिए। 

सन् २०१४ मा डेभिड मोयेस आठ महिनामै बर्खास्त भएयता युनाइटेडका स्थायी प्रशिक्षकमध्ये आमोरिम सबैभन्दा छोटो कार्यकाल भएका प्रशिक्षक बनेका छन्।