
काठमाडौं । नेपाली क्रिकेटमा अहिलेसम्म धेरै सपना देखिए ।
कति पुरा भए, त कतिपय पुरा हुन बाँकी छन् । अबको केही समयमै नेपाली क्रिकेटको अर्को सपना पूरा हुँदैछ । त्यो हो-टेस्ट राष्ट्रको टोलीसँग खेल्ने, त्यो पनि घरेलु मैदानमा । आईसीसीले अर्को सातादेखि नेपालमा आयोजना गर्न लागेको महिला टी-२० विश्वकप छनोटमा नेपालले बंगलादेश, आयरल्यान्ड र जिम्बाब्वेको टिमसँग खेल्न लागेको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्-आईसीसीले नेपालमा आयोजना गर्न लागेको महिला टी-२० विश्वकप छनोटमा बंगलादेश, आयरल्यान्ड र जिम्बाब्वेको सिनियर टिमले पहिलो पटक नेपालमा खेल्नेछन्। कुनै पनि टेस्ट राष्ट्रको राष्ट्रिय टिमले नेपालमा खेल्न लागेको यो पहिलो पटक हुनेछ।
विश्वमा अहिले टेस्ट क्रिकेटको मान्यता पाएका १२ देशमात्रै छन्। त्यसमध्येको अफगानिस्तानसँग महिला टिम नै छैन । विश्व नम्बर एक अष्ट्रेलियासँगै इंग्ल्यान्ड, भारत, न्युजिल्यान्ड, श्रीलंका, पाकिस्तान र वेस्ट इन्डिजले भने इंग्ल्यान्डमा हुने महिला टी-२० विश्वकपमा स्थान बनाएका छन् ।
बंगलादेश, आयरल्यान्ड र जिम्बाब्वेको महिला टिमले भने विश्वकपमा पुग्नका लागि ग्लोबल क्वालिफायर खेल्नेछन्। अर्को हप्ता सुरू हुने त्यही ग्लोबल क्वालिफायरका लागि यी तीन टेस्ट राष्ट्रको महिला टिमले नेपालमा खेल्न लागेका हुन्। नेपालका लागि यो एउटा ठूलो एक्सपोजर हुनेछ, नेपाली माटोका लागि पहिलो अनुभव त हुने नै छ।
टेस्ट राष्ट्र बंगलादेशको पुरुष टोलीले अहिलेसम्म नेपाल आएर खेलेको छैन् । विश्ववरियताको १०औं स्थानमा रहेको यो मुलुकको महिला टिम पनि पहिलो पटक आउन लागेको हो। बंगलादेशले सन् २०१४ यताका सबै महिला विश्वकप खेलेको छ। उसले २५ मध्ये तीन खेलमात्रै जितेको भए पनि बंगाल टाइगर फाइटिङ स्पिरिटले भरिएको टिम हो। यो छनोटको उपाधि दावेदारसमेत हो बंगलादेश।
आयरल्यान्डको टोली आइतबार नेपाल आइसकेको छ । विश्व वरियताको नवौं स्थानको आयरल्यान्डले अहिलेसम्म चार पटक विश्वकप खेलिसकेको छ। उसले, २०२३ मा पछिल्लो पटक विश्वकपमा सहभागीता जनाएको थियो तर गत वर्ष आयोजना भएको विश्वकपमा छनोट हुन सकेको थिएन। तर घरेलु प्रतियोगिता तथा खेलाडीको व्यक्तिगत ट्यालेन्टलाई नियाल्ने हो भने आयरल्यान्ड पनि प्रतियोगिताको दावेदारका रुपमा छ। तर यसको महिला र पुरुष राष्ट्रिय टिमले अहिलेसम्म नेपाल भ्रमण गरेको छैन् ।
यसअघि आयरल्यान्डको ए टिममात्रै नेपाल आएको थियो । यता, टेस्ट राष्ट्रको सूचीमा रहे पनि जिम्बाब्वेको अवस्था अहिले त्यति बलियो छैन्। टेक्निकल क्रिकेट खेल्ने यो देशको राष्ट्रिय महिला टिमले महिला टी-२० विश्वकपमा डेब्यु गर्न सकेको छैन । १५ औं वरीयतामा रहेको जिम्बावेको राष्ट्रिय टोलीले पनि पहिलो पटक नेपाल भ्रमण गर्न लागेको हो।
यसअघि जिम्वाब्वेको ए टिमले नेपालसँग सिरिज खेलेको थियो। तीन टेस्ट टिममध्ये नेपालले समूह चरणमा जिम्बाव्वेसँग मात्रै खेल्नेछ। नेपाल र जिम्बाब्वेबीचको खेल माघ १० गते हुनेछ। यो नै नेपाली महिला टिमले टेस्ट खेल्ने देशको महिला टिमसाग घरेलु मैदानमा खेलेको पहिलो खेल हुनेछ।