आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोटको तयारीमा राष्ट्रिय महिला क्रिकेट टिम

३ देशसंग सिरिज खेल्ने
पुस २२, २०८२ |खेल ब्युरो
आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोटको तयारीमा राष्ट्रिय महिला क्रिकेट टिम

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप २०२६ को ग्लोबल छनोटको तयारीका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले तीन देशसँग सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ-क्यानले मंगलबार सामाजिक सञ्जालमार्फत नेपालले अमेरिका, स्कटल्यान्ड र जिम्वाब्बेसँग सिरिज खेल्न लागेको जनाएको हो । तालिका अनुसार नेपालले बुधबार अमेरिका, शुक्रबार स्कटल्यान्ड र आइतबार जिम्वाब्वेसँग खेल्नेछ । सिरिजका सबै खेल मुलपानीको माथिल्लो मैदानमा आयोजना हुनेछन् । 

सिरिजपछि नेपालले ग्लोबल छनोटको आधिकारिक अभ्यास खेलमा पुस ३० गते आयरल्यान्ड र माघ २ गते अमेरिकासंग प्रतिस्पर्धा गर्ने छ । ग्लोबल क्वालिफायर्सको समूह 'बी' मा रहेको नेपालले स्कट्ल्यान्ड, थाइल्यान्ड, जिम्बाब्वे र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने छ । समूह 'ए' मा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, नामिबिया र अमेरिका छन् ।

नेपालले माघ ४ गते थाइल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ भने ८ माघमा नेदरल्यान्डससँग प्रतिस्पर्धा गर्ने छ । तेस्रो खेलमा नेपालले माघ १० गते जिम्वाब्बे र समूहको अन्तिम खेल १२ माघमा स्कटल्यान्डसँग खेल्ने छ । दुबै समूहबाट शीर्ष तीन टोली सुपर सिक्सका लागि छनोट हुने छन् । 

सुपर सिक्सको खेलपछि शीर्ष चारमा रहने टोलीले विश्वकपमा स्थान बनाउनेछन् । आइसीसी महिला टी-२० विश्वकप २०२६ जुन १२ देखि जुलाई ५ सम्म इङल्यान्ड र वेल्समा हुने छ ।