नेपाल खेलप्रेमी राष्ट्रको रूपमा सशक्त तवरले स्थापित हुँदैछ : राष्ट्रपति पाैडेल

पुस २१, २०८२ |खेल ब्युरो
नेपाल खेलप्रेमी राष्ट्रको रूपमा सशक्त तवरले स्थापित हुँदैछ : राष्ट्रपति पाैडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक भएको बताउनुभएको छ ।

सोमबार शितल निवासमा टी-२० विश्वकपको ट्रफी सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले टी-२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताउँदै यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गर्नुभयो । 

नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा सशक्त तवरले स्थापित हुँदै गएको उहाँले बताउनु भयो । क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि उहाँले बताउनु भयो । नेपालमा विश्वकप ट्रफी ल्याई नेपाली क्रिकेट र जनताको उत्साह एवं आत्मविश्वास अभिवृद्धि गरिदिनुभएकोमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्प्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले नेपालमा आयोजना हुन गइरहेको महिला विश्वकप छनोट प्रतियोगिता तथा भारत र श्रीलंकामा आयोजना हुन गइरहेको टी-२० विश्वकपमा सहभागी हुने महिला तथा पुरूष राष्ट्रिय क्रिकेट टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गर्नुभयो ।