७० हजार प्रयोगकर्ता फसाएको एसएमसी स्क्याम : ११ पक्राउ, चिनियाँसहित २० जना प्रहरीको राडारमा

पुस २२, २०८२ |किरण पौडेल
७० हजार प्रयोगकर्ता फसाएको एसएमसी स्क्याम : ११ पक्राउ, चिनियाँसहित २० जना प्रहरीको राडारमा

काठमाडौं । नेपालमा भइरहेका अनलाइन स्क्यामिङलगायतका कसुरमा कम्तिमा ३० प्रतिशत एउटै एपमार्फत भएको देखिएको छ। 

मोबाइलमा चलाउन मिल्ने एसएमसी नामक एपमार्फत १२ करोडभन्दा बढी ठगी भएको प्रहरीको साइबर ब्युरोले जनाएको छ। ७० हजार प्रयोगकर्तालाई एपमा जोडेर आकर्षक कमाइको प्रलोभन दिँदै स्क्यामिङको विधिबाट ठगी धन्दा चलाइएको पाइएपछि प्रहरीले अनुसन्धान थाल्दा ठगिएका पीडितहरू धमाधम प्रहरीको सम्पर्कमा आउन थालेका छन्।

काठमाडौंको सिनामंगलमा खाजाघर चलाउँदै आएकी अरूना राईलाई एकदिन एक ग्राहकले एउटा मोबाइल एपको बारेमा जानकारी दिए। अरूणालाई ती व्यक्तिले सजिलै पैसा कमाउन सकिने उपायका भन्दै एप चलाउन सिकाइ पनि दिए। सुरूमै ३ हजार रूपैयाँ बैंकमार्फत भुक्तानी गरेपछि एपको चलाउने लगानी योजनामा उहाँ सहभागि हुनुभयो। 

सुरूसुरूमा एपमा देखिने भिडियो हेरेकै भरमा पैसा पनि आएको एपमा देखियो। तर विस्तारै लेभलअनुसार कमाइ बढ्दै जाने लोभमा अरूणाले लगानी थप्दै जानुभयो। १६ लाखसम्म लगानी गरिसकेपछि अरणालाई आफू ठगिएको थाहा भयो। अरूणाले चलाएको एपको नाम हो – एसएमसी। 

पिरामिड संरचनामा मानिसहरूलाई सदस्य बनाउँदै जाने र जति धेरै सदस्य बनाइन्छ, उती नै धेरै कमाइ हुने यो एपले चलाएको थियो। सदस्य बनाउँदै जाने, आफूले र सदस्यलाई पनि भिडियो हेर्ने बनाउँदै पैसा कमाउने सजिलो उपायमा आकर्षित भएर यो ७० हजारपटक डाउनलोड भएको छ। 

एप डाउनलोड गरेर ठगिनेका फरक-फरक अनुभव छन्। अरूणाले त लगानीमात्रै गर्नुभयो। कतिले यहि एपमार्फत धेरथोर कमाइ पनि गरेको अनुभव सुनाउँछन्। तर स्वयम्भू बस्दै आएका जयप्रसाद राईले ६ लाखसम्म आम्दानी गरेको एपले देखाए पनि रकम हातमा परेन। उहाँको साढे २ लाख जति भने त्यसैमा डुब्यो।

प्रहरीका अनुसार यसरी ठगिने २ सय ५५ जनाको उजुरी परेको छ। एकै परिवारका धेरैजनाको उजुरी परेको विवरणअनुसार कम्तिमा ६ सय जना प्रहरीको सम्पर्कमा आएका छन्। तर उजुरी नगर्ने थुप्रै हुन सक्ने प्रहरीको अनुमान छ। विदेशमा रहेका नेपालीदेखि देशका ग्रामिण भेगसम्म यसको सञ्जाल फैलिएको साइबर ब्युरोले जनाएको छ। 

कम्पनी रजिस्ट्रार कार्यालयमा विज्ञापन सेवा दिने उद्देश्यसहित “एसएमसीएन एड्भरटाइजिङ सर्भिस सेन्टर” को नाममा कम्पनी दर्ता भएको देखिन्छ, जसले सञ्चलन गर्ने एपले थोरै लगानीमा उच्च प्रतिफल पाइने र नयाँ सदस्य थपे बोनस पाइने प्रलोभन देखाएर ठगी गरेको साइबर व्यूरोले जनाएको छ ।

सुरुमा सानो रकम भुक्तानी गरेर विश्वास जितेपछि लाखौँ रुपैयाँ लगानी गर्न लगाइएको प्रारम्भिक अनुसन्धानबाट देखिएको अवस्थीले बताउनुभयो । साइबर ब्युरोले पहिलोपटक संगठित अपराधको कसुरमा अनलाइन स्क्यामिङमा अनुसन्धान अघि बढाएको छ ।

सोमबारमात्र प्रहरीले यो ए‍पमार्फत ठगी गर्ने गिरोहका ११ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । जसमा १ चिनियाँ नागरिक समेत छन् । प्रहरीले यसमा अन्य २० जनालाई राडारमा राखेको सायबर ब्यूरो स्रोतले बताएको छ जसमध्ये कम्तिमा ७ विदेशी नागरिक रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । 

उच्च प्रहरी स्रोतका अनुसार यो समुहको नेपालमा भयईरहेका अनलाइन स्क्यामिङ लगायतका कसुरमा कम्तिमा ३० प्रतिशत हिस्सेदारी रहेको बताइएको छ । प्रहरीका अनुसार ७० हजारभन्दा बढी प्रयोगकर्ता जोडिएको एसएमसी मोबाइल एपमार्फत कम्तिमा १२ करोड ८ लाख रूपैयाँभन्दा बढी रकम ठगी भएको देखिएको छ ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।