
काठमाडौं । अफ्रिका कप अफ नेसन्स- एएफकन-२०२५ मा साेमबार अन्तिम १६ चरणमा दुई खेल हुनेछन्।
त्यसमा पनि समूह बीको विजेता इजिप्ट र बेनिनबीचको खेललाई महत्वका साथ हेरिएको छ। यो खेलको विजेता क्वार्टरफाइनलमा प्रवेश गर्ने हिसाबले त महत्वपूर्ण छ नै इजिप्टका कप्तान मोहम्मद सलाहको सफलताको कथासँग पनि यो खेलको महत्व जोडिएको हो।
पछिल्ला दुई संस्करणमा अन्तिम १६ बाटै बाहिरिएपछि इजिप्ट नयाँ संकल्पका साथ प्रतियोगितामा आएको हो। त्यसैले पनि यसपटक सो नतिजा नदोहोरियोस् भन्ने चाहन्छ। समूहका दूई खेलमा क्लिन सिट राखेको होसाम हसनको टोलीले आक्रमणमा भने सानदार प्रदर्शन गर्न सकेको छैन्।
दक्षिण अफ्रिकाविरुद्ध १८ र अंगोलाविरुद्ध १६ प्रहार इजिप्टको पोस्टतर्फ आएका थिए। ती खेलमा इजिप्ट पूर्ण क्षमतामा नखेलेका कारण साेमबार हुने बेनिनसँगको खेल इजिप्टका लागि वास्तविक परीक्षा हुनेछ। यता प्रशिक्षक हसन पनि सन् २०१९ र पछिल्लो संस्करणमा भएको असफलताबाट सचेत छन्।
उता बेनिन भने कम दबाबमा मैदान उत्रिनेछ। समूह 'डी' मा सेनेगल र कंगोजस्ता बलियो टोलीसँग परेकाले उत्कृष्ट तेस्रो भएर प्रि-क्वार्टरफाइनलमा पुगेको हो। साेमबार इजिप्टविरुद्धको चुनौती बेनिनका लागि कठिन हुनेछ। कंगो र सेनेगलविरूद्ध बेनिनले गोल गर्न सकेको थिएन। इजिप्टलाई हराउन बेनिनलाई उच्च स्तरको प्रदर्शन आवश्यक पर्नेछ। यद्यपि सन् २०१९ मा मोरोक्कोलाई पेनाल्टी सुटआउटमा हराएको अनुभव बेनिनका लागि प्रेरणा बन्न सक्छ।
यो खेल राति पौने १० बजे सुरू हुनेछ। साेमबार राति नै पौने एक बजे हुने खेलमा नाइजेरियाले मोजाम्बिकको सामना गर्नेछ।