
काठमाडौं । फर्स्ट वुमेन्स टी-२० वर्ल्डकप क्रिकेट फर द ब्लाइन्ड-२०२५ मा उपविजेता बनेको नेपाली टोलीलाई काठमाडौं महानगरपालिकाले आइतबार नगदसहित सम्मान गरेको छ।
क्रिकेट एसाेशिएसन फर द ब्लाइन्ड इन इन्डियाले आयोजना गरेको वर्ल्ड कपमा नेत्रहीन महिला क्रिकेट टोलीले भाग लिएको थियो । वर्ल्डकप गएको कार्तिक २४ गतेदेखि मंसिर ७ गतेसम्म भारत र श्रीलंकामा आयोजना भएको थियो । वर्ल्डकपका उपविजेता टीमलाई महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सम्मान गरेका हुन।
खेलाडीहरुले जनही एक लाख रूपैयाँ र व्यवस्थापकले जनही ५० हजार रूपैयाँ प्राप्त गर्ने गरी प्रमुख शाहले, नेत्रहीन क्रिकेट संघ नेपाललाई एकमुष्ट १८ लाख ५० हजार रूपैयाँ प्रदान गरेको महानगरपालिकाले जानकारी दिएको हो। कार्यक्रममा बोल्दै सामाजिक समितिका संयोजक रामकुमार केसीले नेत्रहीन महिला क्रिकेट टोलीलाई आगामी प्रतिस्पर्धाका लागि आवश्यक पर्ने व्यवस्थापकीय सहयोग महानगरपालिकाले उपलब्ध गराउने बताए ।
सरकारका तर्फबाट पहिलो सम्मान भएको कप्तान गीत पौडेलले बताएकी छन्। उनले आफ्ना लागि खेल मैदानको अभाव रहेको बताइन्। उनले मैदान उपलब्ध गराइदिन काठमाडौं महानगरपालिकालाई अनुरोध गरेकी छन्।