राजनीतिक एजेन्डा मात्रै बन्यो बबई पुल, जनताको पीडा उस्तै

पुस २१, २०८२ |कमल पन्थी
राजनीतिक एजेन्डा मात्रै बन्यो बबई पुल, जनताको पीडा उस्तै

बर्दिया । ०७४ सालमा बबई नदीको गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने पुल उद्घाटन नहुँदै भासिएको थियो । 

बदनाम कमाएको पप्पु कन्स्ट्रसनले निर्माण गरेको पुल ०७९ साल असोज २२ गते आएको बाढीले बगायो । बन्दाबन्दैको पुल बगाएपछि यस क्षेत्रका करिब डेढ लाख बासिन्दालाई सदरमुकाम गुलरिया र बारबर्दिया आउजाउ गर्न कठिन भएको छ । पुल बगाएपछि सदरमुकाम गुलरियाबाट बारबर्दिया पुग्न १५ मिनेटको बाटो अहिले एक घन्टा बढी समय लाग्ने गरेको छ । 

पुल नहुँदा किसानले उब्जाएको अनाज गुलरिया पुराउन सकस भएको छ । समय खेर जाने काठे पुल र डुंगा चढेर आउजाउ गर्दा कर बुझाउनु पर्ने बाध्यता छ । लाइफ लाइन मानिएको पुल भासिएको वर्षौं भयो । तर सरकारले सुन्दैन । सरकारी कार्यालयको कामकाजदेखि मलखादलगायत अत्यावश्यक सामान खरिद गर्न गुलरिया आउजाउ गर्न यहाँका बासिन्दाले सास्ती खेपेका छन् । 

नदी तरेर आउँदा बगरमा रहेको वनमा चितुवाको डर लाग्नुका साथै आउजाउ गर्न महिलालाई निकै कष्ट हुने गरेको छ । पूर्वमन्त्री संजय गौतमले पुल निर्माणका लागि करिब दुई वर्ष अघि दबाब दिन आठ दिन अनसन नै बस्नुभयो । तत्कालीन भौतिक यातायात मन्त्री प्रकाश ज्वालाले गौतमको अनसन तोड्दै पुल निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । 

यति मात्र होइन पूर्वमन्त्री रघुवीर महासेठ र अहिलेका भौतिक मन्त्री कुलमान घिसिङले पनि पुल तत्काल निर्माण गर्न आश्वासन दिनुभयो । पछिल्लो समय यो स्थान भौतिक मन्त्रीहरूको पर्यटकीयस्थल जस्तो भएको छ । निर्वाचनका समय यहाँका नेताहरूका लागि यो मूख्य एजेन्डा भएको छ । 

विगतमा सांसदले पुल बनाउने बाचा गरेका थिए । तर पुल कहिले बन्ने हो निश्चित छैन् । जसका कारण यस भेगका करिब डेढ लाख बासिन्दाको दैनिकी कष्टकर बनेको छ ।


Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।