
काठमाडौं । पोखरामा एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड-२०८१ को सचिवालय उद्घाटन भएको छ ।
सोमबार ‘म्याजेस्टीक लेक फ्रन्ट’मा २२औं संस्करणको अवार्डको लागि सचिवालय स्थापनासहित उद्घाटन भएको नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले जानकारी दिएको हो । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले सचिवालयको औपचारिक उद्घाटन गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत अर्यालले पहिलो पटक काठमाडौं बाहिर हुन लागेको अवार्ड भव्यरूपमा सफल पार्न शुभकामना दिएका छन् । ‘पहिलो पटक एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड काठमाडौं बाहिर हुँदैछ । यो अवार्ड भव्यरुपमा सम्पन्न गर्न शुभकामना छ,’ अर्यालले भने ।
काठमाडौं बाहिर पहिलोपटक आयोजना हुन लागेको अवार्डमा पोखरा महानगरपालिका प्रवर्धकका रुपमा छ । एनएसजेएफले स्पोर्टस अवार्डसँगै स्पोर्टस समिटको पनि आयोजना गर्दैछ । उक्त समिट अवार्डको अघिल्लो दिन पुस २२ गते हुनेछ ।एनएसजेएफ पल्सर स्पोट्स अवार्ड २०८१ मा विगतमा जस्तै १० विधामा अवार्ड प्रदान गरिनेछ ।
त्यसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड रहेका छन् । खेलाडीलाई जनमतबाट विजेता बनाउने विधाको रूपमा रहेको पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भइसकेको छ ।
मनोनयनमा परेका खेलाडी विजय सिन्जाली (उसु), इभाना थापा (टेबलटेनिस), हिमाल सुनारी (भलिबल), पूजा महतो (क्रिकेट) र रेखा पौडेल (फुटबल)का लागि सामाजिक सञ्जालमा व्यापक चर्चासँगै डिजिटल वालेट खल्ती आईएमई एपमार्फत भोटिङ भइरहेको छ ।