
काठमाडौं । बंगलादेशले भारतमा आईसीसी टी-२० विश्वकप नखेल्ने भएको छ ।
बंगलादेश र नेपाल एकै समूहमा छन् । मुस्ताफिजुर रहमानलाई इन्डियन प्रिमियर लिग-आईपीएलको टिम कोलकात्ता नाइट राइडर्सले भारतीय क्रिकेट बोर्डको आदेशमा रिलिज गरेपछि बंगलादेशले भारत नजाने निर्णय गरेको हो । बंगलादेशका खेलकूद सल्लाहकार आसिफ नजरुलले, आफ्नो देशले विश्वकपमा भारत भम्रण गर्न अस्वीकार गरेको जानकारी दिएका हुन् ।
बंगलादेशको क्रिकेट संघले लिएको निर्णयलाई सरकारले साथ दिएको हो । भारतमा आफ्ना खेलाडीको सुरक्षालाई लिएर बंगलादेशले चिन्ता व्यक्त गरेको छ । टी-२० विश्वकप सात फेब्रुअरीदेखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुँदैछ । बंगलादेशले आफूले खेल्ने खेल श्रीलंका सार्न आग्रह गरेको छ ।
बंगलादेश नेपाल रहेको समूह 'सी'मा छ । बंगलादेश र नेपालबीच फेब्रुअरी १३ मा मुम्बइको वानखडे स्टेडियममा खेल हुने तालिका छ । बंगलादेशले कोलकाताको इडेन गार्डेन्समा वेस्ट इन्डिज, इटली र इङल्यान्डसँग खेल्नेछ । यस विषयमा भारतको क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद्-आईसीसीले कुनै प्रतिक्रिया नजनाएको रोयटर्समा उल्लेख छ । भारत र बंगलादेशबीचको पछिल्लो राजनीतिक तनावको असर खेलमा परेको हो ।