राष्ट्रिय लिगको खेल तालिका सार्वजनिक

१७ टोलीको सहभागीता रहेको लिगको पााच दिन मिति सरेपछि पुष ३० गते सुरु हुने
पुस २०, २०८२ |खेल ब्युरो
राष्ट्रिय लिगको खेल तालिका सार्वजनिक

काठमाडौं । आगामी पुस २५ गतेबाट सुरू हुने भनिएको राष्ट्रिय लिग पाँच दिन पछि सरेको छ । 

सहभागी क्लबहरुले, खेलाडी दर्ता र तयारीका लागि समय माग गरेपछि लिग पुस ३० गतेबाट गर्ने सहमति भएको अखिल नेपाल फुटबल संघ-एन्फाले जानकारी दिएको हो । राष्ट्रिय लिगमा १७ क्लब सहभागी हुनेछन् । सुरुवातमा सहिद स्मारक 'ए' डिभिजन लिगको शीर्ष ६ र प्रेसिडेन्ट कपको सेमिफाइनलिस्ट गरी १० दश क्लबले खेल्ने तय भएको थियो । तर खेलाडी संघको आन्दोलन, क्लब, एन्फा र खेलकुद मन्त्रालयबीचको छलफलपछि खेल्न चाहने अन्यलाई पनि बाटो खुल्ला गरिएको थियो । 

त्यसबाट मच्छिन्द्र फुटवल क्लब, मनाङ मर्स्याङदी, संकटा, प्लानिङ ब्वाईज, फ्रेन्ड्स, त्रिभुवन आर्मी क्लब र श्री भगवती थपिए । कर्मा छिरिङ शेर्पाको हिमालयन शेर्पाले भने दर्ता गराएन । राष्ट्रिय लिगको ड्र भने आइतबार सार्वजनिक गरिएको छ । उदघाटन खेलमा काँक्रेविहार एफसी र फ्रेन्ड्स क्लब भिड्नेछन् । 

सोही दिन हुने अर्को खेलमा श्री भगवती र चर्च ब्वाईज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । यी दुबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछन् । दशरथ रंगशालामा पहिलो खेल माघ तीन गते हुनेछ । त्यो दिन प्लानिङ ब्वाईज र नेपाल पुलिस क्लब खेल्नेछन् । 

निर्वाचनका कारण फागुन १६ देखि २१ गतेसम्म लिगका खेल हुने छैनन् । त्यसपछि सुरु हुने लिगको मिति भने एन्फाले बताएको छैन । यस्तै एन्फा महिला लिगको ड्र पनि सार्वजनिक भएको छ । दश टिम सहभागी लिग फागुन २४ गतेबाट सुरू हुनेछ । शीर्ष ६ टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । त्यसबाट शीर्ष चारमा रहने क्लबले प्ले अफ खेल्नेछन् ।