
काठमाडौं । आईसीसी टी-२० महिला विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपाली महिला क्रिकेट टिमको घोषणा भएको छ।
काठमाडौंमा यही जनवरीबाट आयोजना हुने क्वालिफायरका लागि १५ सदस्यीय टोली घोषणा भएको नेपाल क्रिकेट संघ-क्यानले जानकारी दिएको हो। क्वालिफायर यही जनवरी १२ देखि फेब्रुअरी १ सम्म काठमाडौंको मूलपानी र टीयू क्रिकेट रंगशालामा सञ्चालन हुनेछ।
टोलीको कप्तानी इन्दु बर्माले गर्नेछिन् भने पूजा महतो उप-कप्तानको जिम्मेवारीमा रहेकी छन्। घोषित टोलीमा अनुभवी र युवा खेलाडीहरूको सन्तुलित संयोजन देखिएको छ। टोलीमा सिता राना मगर, रुबिना छेत्री, सम्झना खड्का, मनीषा उपाध्यायलगायत अनुभवी खेलाडी समावेश छन् भने काजल श्रेष्ठ, कविता जोशी र रचना चौधरीलगायत खेलाडीले पनि अवसर पाएका छन्।
टिमका अन्य खेलाडीमा बिन्दु रावल, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट र राजमती ऐरि रहेका छन। काठमाडौंमा आयोजना हुने यो छनोटलाई महिला क्रिकेटका लागि ऐतिहासिक अवसरको रूपमा हेरिएको छ। पहिलो पटक भारतका अनुभवी प्रशिक्षक हर्षल पाठकलाई अनुबन्ध गरेपछि नेपाली क्रिकेट टिमले मिहिनेत साथ प्रतियोगिताको तयारी गरिरहेको छ।
समूह 'बी'मा रहेको नेपालसँग थाइल्यान्ड, स्कटल्यान्ड, जिम्बाब्वे र नेदरल्यान्ड्स रहेका छन्। नेपालले जनवरी १८ मा थाइल्यान्ड, जनवरी २२ मा नेदरल्यान्ड्ससँग मुलपानी मैदानमा खेल्नेछ। त्रिवि मैदानमा जनवरी २४ मा जिम्बाब्वेसँग र २६ तारिखमा स्कटल्यान्डसँग खेल हुनेछ।