जेन-जी आन्दोलनले आत्मसमीक्षाको अवस्था सिर्जना गरेको छ : संयाेजक दाहाल

पुस १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी आन्दोलनले आत्मसमीक्षाको अवस्था सिर्जना गरेको छ : संयाेजक दाहाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले जेन-जी आन्दोलनले राजनीतिक नेतृत्वलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको बताउनुभएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा उहाँले अब नयाँ संकल्प र प्रतिबद्धतासहित जनताको आवश्यकतालाई सम्बोधन गर्ने कि आफ्नो औचित्य सकिएको स्वीकार गर्दै पन्छिने भन्ने निर्णायक अवस्थामा राजनीति पुगेको बताउनु भयो । 

अध्यक्ष दाहालले देश अहिले विरलै देखिने गम्भीर संकटबाट गुज्रिरहेको उल्लेख गर्दै यसको समाधान सर्वपक्षीय सहमति र संकल्पबाट मात्रै सम्भव हुने धारणा राख्नुभयो । उहाँले सबै राजनीतिक शक्ति मिलेर अघि बढ्ने वातावरण बन्दै गएको बताउनु भयो । 

उहाँले देश अन्योलमा छैन भन्ने सन्देश प्रधानमन्त्रीले दिन सफल भएको भन्दै उहाँले त्यसका लागि धन्यवाद समेत व्यक्त गर्नुभयो । उहाँअनुसार अहिले जनता र राजनीतिक दलहरू निर्वाचनको कुनै विकल्प छैन भन्ने निष्कर्षमा पुगेका छन् । अध्यक्ष दाहालले विकास र समृद्धिका लागि निजी क्षेत्रको भुमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरूरी रहेको बताउनु भयो । 

निजी क्षेत्रलाई प्रोत्साहन नगरेसम्म देशले आर्थिक प्रगति हासिल गर्न नसक्ने उहाँको भनाइ थियो । उहाँले शान्ति, स्थायित्व र समृद्धि आजको मुख्य आवश्यकता भएको उल्लेख गर्दै त्यसका लागि निर्वाचन सम्पन्न गर्नु र आगामी सरकारमार्फत संविधान संशोधन गर्नु नै दीर्घकालीन समाधान भएको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.