युवापलायन र अनियमित वर्षाले रामेछापका रैथाने बाली संकटमा

पुस १६, २०८२ |नवराज श्रेष्ठ
युवापलायन र अनियमित वर्षाले रामेछापका रैथाने बाली संकटमा

रामेछाप । रामेछापमा केही वर्षयता रैथाने बाली लगाउने किसान घट्दै गएका छन् । 

कामदार अभाव र बढ्दो बसाइँसराइ र जलवायु परिवर्तनको प्रभावका कारण रैथाने बाली उत्पादनमा गिरावट आएको हो । कुनै समय गहत र मस्याङ राम्रो उत्पादन हुने रामेछापको मन्थली नगरपालिका-३ स्थित हाडीस्वारा गाउँमा अहिले रैथानेबाली हराउँदै गएका छन्। 

एक दशकअघिसम्म यहाँको मुख्य बाली नै गहत थियो। त्यसपछि मकै, कोदो र मस्याङजस्ता बालीनाली लगाइन्थ्यो। त्यस बेला एक परिवारले एउटै सिजनमा चार मुरीभन्दा बढी गहत उत्पादन गर्थे। एक मुरी गहत बेचेर तीन मुरीभन्दा बढी धानलगायतका अरू अन्न किन्न सकिने आम्दानी हुने भएकाले गहत यहाँका किसानका लागि नगदे बाली ठानिन्थ्यो । तर पछिल्ला वर्षहरूमा समयमा वर्षा नपर्नु, खेतीयोग्य जमिन बाँझिँदै जानु र गाउँमा काम गर्ने जनशक्ति अभावका कारण गहत, मस्याङसहितका रैथाने बालीको खेती कम हुँदै गएको छ।

युवाहरू रोजगारीका लागि सहर तथा विदेश पलायन भएपछि गाउँमा खेती गर्ने जनशक्तिकै अभाव छ। त्यसैमाथि मौसम प्रतिकूल बन्दै जाँदा गहत र मस्याङजस्ता रैथाने बालीको उत्पादन निरन्तर घट्दै गएको छ। उत्पादन घटेपछि खेतीबाट जीविकोपार्जन सम्भव नदेखिँदा धेरै किसान खेती नै छाड्न बाध्य भएका छन्। 

जसका कारण रामेछापका अधिकांश भू-भागमा रैथाने बाली लोप हुने अवस्थामा पुगेको छ। फापर, तिते फापर, जुनेलो, सिलाम, गहत र तिलजस्ता बाली अहिले लगाउने किसान थोरै छन्। मौसम परिवर्तनका कारण आवश्यकताअनुसार समयमा वर्षा नहुनु, लामो खडेरी र अनियमित पानी पर्ने समस्या बढ्दै गएको छ।

कृषि विकास कार्यालय रामेछापकाअनुसार अहिले रामेछापमा ३ हजार ९६० हेक्टरमा कोदो, फापर, जौ मस्याङलगायतका रैथाने बालीको खेती हुन्छ । विगत ५ वर्षको तथ्याङ्क हेर्दा ५ प्रतिशतले कोदो उत्पादन घटेको छ भने ६० हेक्टरमा हुने फापर खेती अहिले घटेर १८ हेक्टरभन्दा तल झरेको छ ।

कामदार अभावले धेरै किसानले खेतबारी जोत्नै छाडेका छन्। यससँगै पछिल्ला वर्षहरूमा मौसममा आएको परिवर्तनले रैथाने बालीलाई ठूलो असर पारेको छ। बाँदरलगायत जंगली जनावरको आतंकले पनि किसानलाई बाली जोगाउन कठिन हुँदै गएको छ।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका रामेछाप संवाददाता हुन् ।