अफ्रिकन कप अफ नेशन्समा आज चार खेल हुँदै

इजिप्टले एंगोला र जिम्बाब्वेले दक्षिण अफ्रिकासँग खेल्ने
मोरक्को-जाम्बिया र माली-कोमोरोस आमनेसामने
पुस १४, २०८२ |खेल ब्युरो
अफ्रिकन कप अफ नेशन्समा आज चार खेल हुँदै

काठमाडौं । अफ्रिकन कप अफ नेशन्समा साेमबार समूह चरणका चार खेल हुँदैछन् । 

नक आउट चरण पुगिसकेको इजिप्टले एंगोलासँग प्रतिस्पर्धा गर्दैछ । समूह 'बी'को यो खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरू हुनेछ । मोहम्मद सालाहको टिम इजिप्ट दुई खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको हो । 

जित हात पार्न सके एंगोला पनि नक आउट चरण पुग्न सक्छ । तर त्यसका लागि दक्षिण अफ्रिका र जिम्बाब्वेको खेलको नतिजा पनि आफूअनुकूल आउनु पर्नेछ । दक्षिण अफ्रिका तीन अंकका साथ दोस्रो र एक अंक जोडेको एंगोला तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको जिम्बाब्वेको एक अंक छ । 

अफ्रिकन कप अफ नेशन्समा इजिप्ट र एंगोला यसअघि सन् १९९६ र २००८ मा भिडेका थिए । दुबै पटक इजिप्टले २-१ गोलको जित हात पारेको थियो । आजै जिम्बाब्वे र दक्षिण अफ्रिका पनि आमने सामने हुनेछन् । नक आउटमा पुग्ने हो भने दुबै टिम सामु जितको विकल्प छैन् । यो खेल पनि राति पौने १० बजे सुरु हुनेछ । साेमबार राति नै समूह 'ए'का पनि अन्तिम खेल हुँदैछन् । 

घरेलु टिम मोरक्कोले जाम्बियासँग भेट गर्दैछ । दुबैको लक्ष्य जित हात पार्दै समूह चरण पार गर्ने हो । शीर्ष स्थानमा रहेको मोरक्कोको दुई खेलबाट चार अंक छ । तेस्रो स्थानको जाम्बियाको दुई, दोस्रो स्थानको मालीको पनि दुई र अन्तिममा रहेको कोमोरोसको एक अंक छ । मोरक्को र जाम्बिया अफ्रिकन कप अफ नेशन्समा चौथो पटक आमनेसामने हुन लागेका हुन् । 

यसअघि दुई पटक मोरक्को विजयी हुँदा एक खेल बराबरीमा सकिएको थियो । यस्तै मालीले कोमोरोससँग खेल्दैछ । यी दुई टिमबीच यसअघि सन् २०२६ को फिफा छनोट खेलमा भेट भएको थियो । जसमा दुबै लेगमा मालीले ३-० गोलको जित हात पारेको थियो । दुबै खेल नेपाली समय अनुसार पौने १ बजे सुरू हुनेछ ।