
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना रहेको बताउनुभएको छ ।
प्रथम च्याउ दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा उहाँले उपभोक्तामा च्याउको माग निरन्तर वृद्धि हुँदै गएकोले च्याउ खेतीको सम्भावना रहेको बताउनुभएको हो । न्यून आयस्रोत भएका किसानका लागि च्याउ खेती जीविकोपार्जनको उपयुक्त माध्यम भएको उहाँले बताउनु भयो ।
आधुनिक उच्च प्रविधि प्रयोग गरी औद्योगिक रूपमा व्यवसायिक च्याउ उत्पादन गर्नसके यसले रोजगारी सिर्जना समेत गर्नसक्ने उहाँको भनाइ छ । उहाँकाअनुसार हाल नेपालमा वार्षिक १५ हजार मेट्रिक टनभन्दा बढी ताजा च्याउ उत्पादन हुने गरेको छ । तर च्याउको माग भने करिब ७२ हजार मेट्रिक टन रहेको उहाँले बताउनु भयो ।
च्याउ ७१ भन्दा बढी जिल्लामा उत्पादन भए पनि ४७ जिल्लामा मात्रै व्यवसायिक रूपमा उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८१/८२ मा ताजा वा चिस्यान गरिएको गोव्रे च्याउ ६ लाख ७१ हजार रूपैयाँ बराबरको २ हजार २ सय ६२ केजी आयात भएको उहाँले जानकारी दिनुभयो ।
उहाँकाअनुसार १ करोड १ लाख रूपैयाँ बराबरको १७ हजार १ सय ९८ केजी च्याउ निर्यात भएको छ । पछिल्लो समय अन्य प्रजातिका च्याउ पनि निर्यात हुन थालेको उहाँले बताउनु भयो । उहाँले च्याउमा मानव शरीरलाई आवश्यक १२ प्रकारका एमिनो एसिडमध्ये ९ प्रकारका एमिनो एसिड पाइने बताउनु भयो ।
प्रोटिन, कार्बोहाइड्रेट, चिल्लो पदार्थ र भिटामिनजस्ता पौष्टिक तत्व पनि च्याउमा पाइने उहाँको भनाइ छ । तर नेपालमा च्याउ खेती अझै विस्तार गर्न नसकिएको उहाँले बताउनु भयो । रैथाने च्याउ तथा नयाँ प्रजातिको अध्ययन-अनुसन्धान, खेती प्रविधि विकास र दक्ष जनशक्तिको उपलब्धता नेपालमा पर्याप्त हुन नसकेको उहाँको भनाइ छ ।