
नवलपरासी । शीतलहरका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा तीन दिनदेखि सवारी आवागमन प्रभावित भएको छ ।
सडक चिप्लिएर ठूला र मालबाहक सवारी उकालो उक्लन नसक्ने र ओरालोमा चिप्लिने समस्या हुँदा सवारीको जाम लागेको ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका वरिष्ठ सई प्रेम पोखरेलले बताउनुभयो । बुटवल-नारायणगढ सडक विस्तारअन्तर्गत अहिले दाउन्ने खण्डमा एकतर्फी सवारी सञ्चालन गरेर सडक ढलान, कल्भर्ट निमार्णको काम भइरहेको छ ।
दाउन्ने खण्डको १४ किलोमिटर पार गर्न अहिले ५-६ घन्टा लाग्ने गरेको छ । ठूला सवारीलाई डोजरले धकेल्नुपर्ने अवस्था छ । तीन दिनदेखि यातायात असहज हुँदा यात्रुले सास्ती भोग्नुपरेको छ । दाउन्ने खण्डमा यातायात सञ्चालनमा समस्या आएपछि बुटवल-नारायणगढ सडक विस्तार आयोजना पश्चिम खण्डले सूचना जारी गर्दै वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
आयोजनाको पश्चिम खण्डका सूचना अधिकारी विकास खनालका अनुसार दाउन्नेमा यात्रा गर्दा समस्या बढी हुने भएकाले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिइएको हो । सडक लेनको पालना नगर्दा पनि यो क्षेत्रमा जाम धेरै हुने गरेको छ ।दाउन्नेमा सवारी अवरूद्ध हुँदा दुई पाङ्ग्रे र चार पाङ्ग्रे साना गाडी पश्चिमबाट पूर्वतर्फ आउँदा बर्दघाटको भुताहा, संसारकोट, पटुके, डाँडाजोर हुँदै दुम्कीवास निस्कन सहज हुन्छ ।
ठूला र भारी सवारी साधनलाई यो खण्ड उपयुक्त नभएकाले सडक विभाग र ट्राफिक प्रहरीले भने यो सडक भएर सवारी सञ्चालन गर्न औपचारिकरूपमा सुझाव दिँदैनन् । नारायणगढबाट पश्चिम जाने सवारीलाई पूर्वी नवलपरासीको गैँडाकोटदेखि कालिगण्डकी करिडोर हुँदै पाल्पा निस्किएर बुटवल जानुपर्ने हुन्छ ।
यो खण्डमा मिनी बस र यात्रुवाहक बस सञ्चालन गर्न सकिन्छ । ठूला सवारी र मालवाहक ट्रकले चितवनको मुग्लिनबाट पोखरा, पाल्पा हुँदै बुटवल निस्कनुपर्ने हुन्छ ।