.png&w=1000&height=550)
काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लबले नवौं एनभीए महिला तथा पुरूष क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ सानदार सुरूवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्-राखेपको कभर्डहलमा शनिबार सम्पन्न खेलमा एपीएफले मधेस प्रदेशलाई सोझो सेटमा पराजित गरेको हो । घरेलु भलिबलमा आफ्नो दबदबा कायम राख्दै आएको एपीएफविरूद्ध मधेस प्रदेशले तीनवटै सेटमा कमजोर प्रदर्शन गर्यो ।
एपीएफले पहिलो सेट २५-४ ले जित्दा दोस्रो सेट २५-५ आफ्नो पक्षमा पार्यो । तेस्रो सेटमा पनि २५-४ को नतिजा निकाल्दै एपीएफले मधेस प्रदेशलाई तीनवटै सेटमा 'विलो टेन' भित्रै सीमित गर्यो । यस जितसँगै समूह 'बी' मा रहेको एपीएफले तीन अंक जोडेको छ । सोही समूहमा नेपाल पुलिस क्लबको पनि समान तीन अंक छ ।
प्रतियोगिताको उद्घाटन खेलमा पुलिसले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्लाई सोझो सेटमा पराजित गरेको थियो । महिलातर्फको दिनको पहिलो खेलमा न्यु डायमन्ड युथ स्पोट्र्स क्लबले चुली युवा क्लबलाई ३-० को सोझो सेटमा हराएको थियो । न्यु डायमन्डले पहिलो सेट २५-१०, दोस्रो सेट २५-५ र तेस्रो सेट २५-१५ ले जित्दै तीन अंक जोड्यो । अब न्यु डायमन्डले सोमबार त्रिभुवन आर्मी क्लबसाग प्रतिस्पर्धा गर्नेछ ।
समूह 'ए' मा न्यु डायमन्ड र त्रिभुवन आर्मी क्लबको समान तीन अंक रहेको छ । समूह चरणबाट शीर्ष दुई टोली सिधैं सेमिफाइनलमा प्रवेश गर्नेछन् । आठ टोली सहभागी महिलातर्फको यस च्याम्पियनसिपबाट शीर्ष छ टोली प्रधानमन्त्री कप एनभीए लिगका लागि छनोट हुने छन् ।