.png&w=1000&height=550)
काठमाडौं । इन्डो-नेपाल टी-२० च्याम्पियनसिपको उपाधिका लागि विभागीय टोली नेपाल एपीएफ क्लब र घरेलु टोली चितवन क्रिकेट क्लब प्रतिस्पर्धा गर्ने भएका छन् ।
भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा शनिबार सम्पन्न सेमिफाइनल खेलमा एपीएफले भारतको दिल्ली वन्डर्स क्रिकेट क्लब र चितवनले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन् ।
पहिलो सेमिफाइनलमा एपीएफले दिल्ली वन्डर्सलाई १ सय २५ रनको फराकिलो अन्तरले पराजित गर्यो । दीपक बोहोरा, प्रज्वल शाही र कप्तान सुमित महर्जनको अर्धशतकीय इनिङ्समा एपीएफले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ५० रनको विशाल योगफल तयार पारेको थियो ।
दीपकले ९७ रनको सानदार इनिङ्स खेल्दा शतक बनाउनबाट ३ रनले चुके । हर्षित सेठ्ठीको बलमा क्याचआउट हुनुअघि उनले ५१ बलमा ९ छक्का र ५ चौका प्रहार गरेका थिए । प्रज्वलले ३४ बलमा ६ छक्का र ६ चौकाको मद्धतमा ७५ र सुमितले २७ बलमा ८ छक्का र एक चौकाको सहयोगमा ६५ रन बनाए ।
दिल्लीका हर्षित सेठ्ठीले ३ विकेट लिए । जवाफमा दिल्ली १५ ओभर ४ बलमा १ सय २५ रनमै अलआउट भयो । विशाल पाण्डेले सर्वाधिक ४० रन बनाए । अंकुर कौशिकले २५ र मोहम्मद कैफले १९ रनको योगदान दिए । दिल्लीलाई अलआउट गर्न अविशेष गौतमले ह्याट्रिकसहित ५ विकेट लिए । उनले ४ ओभरमा १७ रन मात्र खर्च गर्दै ५ विकेट हल पुरा गरे ।