एनभीए भलिबल च्याम्पियनसिप : पुरूषतर्फ पुलिस र हेल्प नेपालकाे जित

पुस ११, २०८२ |खेल ब्युरो
एनभीए भलिबल च्याम्पियनसिप : पुरूषतर्फ पुलिस र हेल्प नेपालकाे जित

काठमाडौं । नवौं एनभीए महिला तथा पुरूष क्लब भलिबल च्याम्पियनसिपमा पुरूषतर्फ नेपाल पुलिस क्लब र हेल्प नेपाल भलिबल क्लबले जित निकालेको छ।

शुक्रबारको दोस्रो खेलमा भने हेल्प नेपाल स्पोट्स क्लबले एपीएफ भलिबल क्लबलाई सोझो सेटमा हराएको छ। एपीएफले खेलबीचमा राम्रो फाइट दिएको भए पनि हेल्प नेपालले जित सुनिश्चित गरेको हो। खेलको पहिलो सेटमा २५-२०, दोस्रो सेटमा २५-२१ र तेस्रो सेटमा २५-२० को सहज जितसँगै हेल्प नेपाल पुरूषतर्फ तीन अंक जोडेको हो।

शुक्रबार भएको पहिलो दिनको पुरूषतर्फको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले चार सेटमा जित निकालेर प्रतियोगितामा विजयी सुरूआत गरेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा समूह 'बी'अन्तर्गत पुलिसले तीन अंक जोड्न सफल भयो। 

पुलिसले विपक्षी टोलइी ढोरपाटन क्लबलाई ३-१ को सेटमा हराउने क्रममा पहिलो सेटमा २५-२० को जित हासिल गरेको थियो। यो सेट प्रतिस्पर्धात्मक देखिए पनि नजित सहजै देखिएको थियो। तर ढोरपाटनले लय कायम राख्न नसक्दा दोस्रो सेट भने फराकिलो अन्तरले पराजित भयो। 

ढोरपाटनले १४ अंक जोड्दा पुलिसले सेट आफ्नो पक्षमा पारेको हो। पुलिसलाई सोझो सेटमा तीन अंक नदिनका लागि ढोरपाटनले तेस्रा सेटमा निकै संघर्ष गरेको थियो। पटक-पटक सेट पोइन्ट बनाएको ढोरपाटनले ३५-३३ ले सेट आफ्नो पक्षमा पारेको थियो। यससँगै खेल २-१ को रोमाञ्चक अवस्थामा पुगेको थियो। तर चौथो सेटमा २५-१४ को जित निकालेर उसले पहिलो तीन अंक सुरक्षित गरेको हो।