वैकल्पिक शक्तिहरूको एकताको प्रयास, रवि र बालेन्द्रबीच छलफल जारी

पुस १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
वैकल्पिक शक्तिहरूको एकताको प्रयास, रवि र बालेन्द्रबीच छलफल जारी

काठमाडौं । पछिल्लो एक सातादेखि वैकल्पिक शक्तिहरूको एकताको प्रयास शनिबार पनि जारी छ । 

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह र रास्वपा सभापति रवि लामिछाने एकता प्रयासका लागि शनिबार पनि छलफलमा हुनुहुन्छ । काठमाडौं महानगर प्रमुख शाह र उज्यालो नेपालका कुलमान घसिङबीच पनि शनिबार भेटवार्ता भएको थियो । दुक्षपक्षीय भेटमा सहमती हुने गरी छलफल भएको उज्यालो नेपालका केन्द्रीय सदस्य तारा प्रसाद जोशीले जानकारी दिनुभयो । 

बालेन्द्र र कुलमानको छलफलपछि अहिले उज्यालो नेपाल आन्तरिक छलफलमा छ । छलफलमा सहमतीको प्रयास गर्ने र साझसम्म निर्णय गर्ने उसको तयारी छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहबीच एकताका लागि सुरू भएको छलफल अन्तिम चरणमा पुगेको छ। दु

ई पक्षबीच पार्टी एकता गर्ने, त्यसको नेतृत्व रवि लामिछानेले गर्ने, पार्टीले आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाहलाई अघि बढाउने गरी सहमतिको खाकामा छलफल भइरहेको छ । अहिले दुबै पक्षका कार्यदलले खाकामा काम सकेर रवि र बालेनबीच एकताका लागि छलफल सुरू भएको छ ।

दुवै पक्षका नेताहरूले शुक्रबार पटकपटक छलफल गरेर सहमतिको खाकालाई अन्तिम रूप दिने प्रयास गरेका थिए । शुक्रबार रास्वपाबाट शिशिर खनाल र असिम शाह तथा बालेन्द्रका तर्फबाट कुमार बेन र भुपदेव शाहबीच छलफल भएको हो ।

निर्वाचनमा प्रधानमन्त्रीका रुपमा बालेन्द्रलाई अघि बढाउँदा पार्टीमा उहाँको वरियता के हुने भन्नेमा पनि छलफल भएको छ। छलफलमा सहभागी नेताहरूका अनुसार पार्टीमा बालेन्द्र सभापति रवि लामिछानेपछिको दोस्रो वरियतामा रहनेमा दुबै पक्ष सहमत भएका छन्। यसबाहेक निर्वाचनका लागि उम्मेदवारको टिकट बाँडफाँट दुबै पक्षको सहमतिमा गर्ने, समानुपातिकतर्फको सूची पनि सहमतिमै तय गरिने लगायतका विषयमा समेत एकमत भएको छ।

रास्वपाको चुनाव चिह्न, झन्डा र नेतृत्व स्वीकार्ने गरी बालेन्द्रको पक्ष एकताका लागि तयार भएको छलफलमा सहभागी एक नेताले बताए ।

सम्बन्धित समाचार :

राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र शाहबीच एकताको अन्तिम गृहकार्य


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.