
काठमाडौं । प्रिमियर लिगअन्तर्गत बक्सिङ डेमा शुक्रबार म्यानचेस्टर युनाइटेड र न्युकासल युनाइटेड प्रतिस्पर्धा गर्दै छन् ।
ओल्ड ट्रार्फडमा खेल नेपाली समय अनुसार राति पौने २ बजे सुरू हुनेछ । प्रिमियर लिग इतिहासमा पहिलो पटक बक्सिङ डेमा केबल एकमात्र खेल हुन लागेको हो । बक्सिङ डेमा युनाइटेडले सबैभन्दा धेरै २२ जित हात पारेको छ । उता न्युकासलले डिसेम्बर २६ मा १६ हार बेहोरेको छ । जुन संयुक्त रूपमा सबैभन्दा धेरै हो । तर पछिल्ला नतिजाले यसपटक इतिहासभन्दा फरक नतिजा आउन सक्ने संकेत गरेको छ ।
गत साता एस्टन भिल्लासँग २-१ को हार बेहोरेपछि म्यानचेस्टर युनाइटेडको चार खेलको अपराजित यात्रा टुङ्गिएको थियो । मोर्गन रोजर्सको दुई गोलले रूबेन अमोरिमको टोलीलाई झट्का दिएको थियो । हाल युनाइटेड तालिकाको सातौं स्थानमा छ । त्यस खेलमा कप्तान ब्रुनो फर्नान्डेस हृयामस्ट्रिङ चोटको कारण बाहिरिनु युनाइटेडका लागि ठूलो धक्का सावित भएको थियो ।
२०२२-२३ यता फर्नान्डेस बिना खेलेका सात लिग खेलमा युनाइटेडले जित हात पार्न सकेको छैन् । घरेलु मैदानमा पनि युनाइटेड पछिल्ला तीन लिग खेल जितविहीन छ र अक्टोबरयता क्लिन चिट राख्न सकेको छैन् । न्युकासलले गत साता चेल्सीसँग २-२ को बराबरी खेलेको थियो । निक वोल्टेमाडेको दुई गोलका बाबजुद अन्त्यतिर लय गुम्दा न्युकासल अंक बाढ्न बाध्य भएको थियो । हाल युनाइटेडभन्दा तीन अंकले पछि न्युकासल तालिकाको ११औं स्थानमा छ ।
युनाइटेडका लागि फर्नान्डेस र कोबी माइनु दुबै बाहिर छन् । कासेमिरो निलम्बनबाट फर्किनेछन् । डे लिग्ट र ह्यारी म्याग्वायरले पनि चोटका कारण यो खेल गुमाउने छन् । न्युकासलका लागि गोलकिपर निक पोपको पुनरागमनको सम्भावना छ । तर डिफेन्समा डान बर्न, ट्रिपियर, बोटम्यानसहितका धेरै खेलाडी चोटग्रस्त छन् । बक्सिङ डेमा एकमात्र खेल भएकाले यो भिडन्तको चासो झनै बढेको छ । चोट र फर्मका समस्याबीच दुबै टोली जितको खोजीमा रहने निश्चित छ ।