
काठमाडौं । अफ्रिका कप अफ नेसन्स-२०२५ अन्तर्गत बक्सिङ डेमा शुक्रबार समूह 'बी' का दुई महत्वपूर्ण खेल हुँदैछन् ।
मोरक्कोमा जारी अफ्रिका महादेशकै प्रतिष्ठित प्रतियोगितामा एकै दिन समूहका चारै टोली मैदानमा उत्रँदा अंक तालिकाको समिकरण क्रमशः स्पष्ट हुँदै जानेछ । पहिलो खेलमा अंगोला र जिम्बाब्वे प्रतिस्पर्धा गर्ने छन् । माराकेचस्थित स्टाड दे माराकेचमा खेल नेपाली समय अनुसार साझ सवा ६ बजे सुरू हुनेछ ।
आफ्नो पहिलो खेलमा हार बेहोरेका टोलीलाई अघिल्लो चरणमा प्रवेश गर्न जित्नै पर्ने दबाब छ । दक्षिण अफ्रिकासँग २-१ ले पराजित अंगोलाले दोस्रो खेलबाट पुनरागमन गर्ने लक्ष्य राखेको छ भने इजिप्टसँग अन्तिम समयमा गोल बेहोरेर पराजय भोगेको जिम्बाब्वे अंक तालिकामा खाता खोल्ने योजनामा हुनेछ ।
अफ्रिका क्षेत्रका पुराना प्रतिद्वन्द्वी दुई टोलीबीचको इतिहास सन्तुलित रहँदै आएको छ । जसले खेललाई थप प्रतिस्पर्धात्मक बनाउने विश्वास गरिएको छ । यस्तै राति पौने ९ बजे अगादिरमा हुने दोस्रो खेलमा समूहका बलिया दाबेदार इजिप्ट र दक्षिण अफ्रिका आमनेसामने हुनेछन् ।
आफ्नो पहिलो खेल जित्दै आत्मविश्वास बढाएका दुबै टोली शीर्ष स्थान कब्जा गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछन् । स्टार फरवार्ड मोहमेद सलाहको अनुभव र गोल गर्ने क्षमतामा इजिप्टको बलियो पक्ष हो भने दक्षिण अफ्रिका अनुशासित र आक्रामक दुबै शैलीको फुटबल खेल्न सक्ने क्षमता राख्छ ।
यस खेलको नतिजापछि समूह 'बी' को विजेता मात्र नभइ नकआउट चरणमा पुग्ने टिमको लगभग टुङ्गो लाग्ने छ ।