आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको खेलतालिका सार्वजनिक

पुस ८, २०८२ |खेल ब्युरो
आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको खेलतालिका सार्वजनिक

काठमाडौं । नेपालमा आयोजना हुने आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको खेलतालिका सार्वजनिक भएको छ । 

नेपाल क्रिकेट संघ- क्यानले मंगलबार प्रतियोगिताको खेल तालिकासँगै वार्मअप खेलको समेत तालिका सार्वजनिक गरेको हो । नेपालसहित १० राष्ट्र सहभागी हुने प्रतियोगिताअन्तर्गत पुस ३० र माघ २ गते वार्मअप खेल खेलिने छन् भने माघ ४ देखि १८ गतेसम्म ग्लोबल छनोट आयोजना हुने छ । प्रतियोगिताका खेलहरू मुलपानीको माथिल्लो क्रिकेट मैदान र कीर्तिपुरस्थित टीयू क्रिकेट रंगशालामा आयोजना हुने छन् ।

नेपालले वार्म अप खेलमा आयरल्यान्ड र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । नेपालले आफ्नो पहिलो खेलमा थाइल्यान्डसँग माथिल्लो मुलपानी क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्ने छ । सोही दिन टीयूमा जिम्बावे र नेदरल्यान्ड्स तथा आयरल्यान्ड र पपुवा न्युगिनी प्रतिस्पर्धा गर्ने छन् । मुलपानीमा हुने अर्को खेलमा अमेरिका र बंगलादेश प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले पहिलोपटक ग्लोबल छनोट खेल्न लागेको हो । प्रतियोगिताको समूह 'ए' मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छन् । समूह 'बी' मा नेपाल, स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बावे छन् । दुवै समूहबाट शीर्ष ३ टोली सुपर सिक्समा पुग्ने छन् । सुपर सिक्सबाट शीर्ष ४ टोलीले सन् २०२६ मा इंग्ल्यान्डमा हुने महिला टी-२० विश्वकपमा स्थान बनाउने छन् ।

ग्लोबल छनोट अन्तर्गत नेपालले जनवरी २२ मा नेदरल्यान्ड्स, २४ मा जिम्बावे र २६ तारिखमा स्कटल्यान्डसँग खेल्ने तालिका छ। यी खेलका लागि नेपालले राम्रो तयारी गरिरहेको छ।