
काठमाडौं । नाइजेरियाले अफ्रिका कप अफ नेसन्समा विजयी सुरूआत गरेको छ ।
वर्षायुक्त मौसममा फेज सहरमा भएको खेलमा नाइजेरियाले तान्जानियालाई २-१ गोल अन्तरले पराजित गरेको हो । चौथो उपाधि जित्ने लक्ष्यमा रहेको सुपर इगल्सले खेलको ३६औं मिनेटमा अग्रता लिएको थियो । एलेक्स इवोबीको आकर्षक क्रसमा डिफेन्डर सेमी अजायीले हेडमार्फत गोल गर्दै नाइजेरियालाई अघि बढाएका थिए ।
पहिलो हाफमा नाइजेरियाले खेल नियन्त्रणमा राखेको थियो र अन्तर बढाउने अवसर पनि सिर्जना गरेको थियो । ब्रेकअघि स्यामुएलको प्रहारलाई तान्जानियाका गोलकिपर जुबेरी फोबाले उत्कृष्ट रूपमा रोकेका थिए । दोस्रो हाफ सुरू भएको केही समयमै तान्जानियाले खेल बराबरीमा ल्यायो । ५०औं मिनेटमा नोभाटस मिरोशीको क्रसमा चार्ल्स एममोम्ब्वाले साइड-फुट प्रहार गर्दै गोल गरे ।
त्यसको दुई मिनेटपछि नै पूर्व अफ्रिकी फुटबलर अफ द इयर अडेमोला लुकम्यानले नाइजेरियालाई पुनः अग्रता दिलाए । यस जितसँगै प्रशिक्षक एरिक चेलको टोलीले महत्वपूर्ण तीन अंक जोडेको छ । नाइजेरियाले अब शुक्रबार राति फेजमै हुने ग्रुप 'सी' अन्तर्गतको अर्को खेलमा ट्युनिसियासँग प्रतिस्पर्धा गर्दै अन्तिम १६ मा स्थान पक्का गर्ने प्रयास गर्ने छ ।
तान्जानियाले युगान्डाको सामना गर्नेछ । यसै समूहको अर्को खेलमा ट्युनिसियाले युगान्डालाई ३-१ ले पराजित गर्यो ।