रुकुम पूर्व । नेपाल प्रिमियम लिग- एनपीएलको विजेता लुम्बिनी लायन्सले 'च्याम्यिन्स ट्रफी सेलिब्रेसन टुर' अन्तर्गत लुम्बिनी प्रदेशका बाह्रै जिल्लामा खुसी साट्न पुग्ने क्रममा सोमबार रुकुम पूर्वको सदरमुकाम रूकुमकोटमा उत्सव मनाइएको छ ।
यस कार्यक्रममा खेलप्रेमीहरुले उत्साहप्रद सहभागिता जनाएका छन् । देशको कान्छो जिल्ला, लुम्बिनी प्रदेशको एकमात्र हिमाली भेग रुकुम पूर्वमा यतिबेला एनपीएलको विजय उत्सव मनाइँदैछ। साथमा छ यस सिजनको विजेता टिमले उचालेको सुनौलो-ट्रफी ।
नेपाली खेलकुद इतिहासमा एक अभुतपूर्व खेल प्रतियोगिता हो, एनपीएल । पहिलो संस्करणको उप-उपपिजेता सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै यस वर्षको उपाधि उचालेको लुम्बिनी लायन्सले 'च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुर' नाम दिएर लुम्बिनी प्रदेशका बाह्रै जिल्लामा खुसी साट्न पुग्ने क्रममा सोमबार रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा उत्सव मनाइयो । यही उत्सवको उमंगमा रंगिए रूकुम पूर्वका खेलप्रेमीहरु ।
एनपीएलमा पहिलोपल्ट विजेता बनेको लुम्बिनी लायन्सले बााकेबाट सुरु गरेको यो टुर बर्दिया अनि दाङ हुदैं तेस्रो दिन रुकुम पूर्व आइपुगेको हो । यसपछि बाँकी सबै जिल्लामा पुगेर उत्सव मनाएपछी यही पुस १६ गते अर्थात् सन् २०२५ को अन्तिम दिन बुटवलमा 'ग्रान्ड सेलिब्रेसन' गर्ने र 'न्यु ईयर ईभ' समेत मनाउने कार्यक्रम तय गरिएको छ ।
यस भेगबाट प्रतिनिधित्व गर्ने टिमले जित हात पारेपछि यसैपनि चंगा भएका खेलप्रेमी र लुम्बिनी लायन्सका समर्थकहरुले आफ्नै घर-आगनमा त्यही टिमका प्रतिनिधीहरूसँगै विजय उत्सवमा सरिक हुन पाउँदा क्रिकेटलाई माया गर्ने र यो खेल खेल्न चाहनेहरुमा ठुलो हौसला मिलेको बताएका छन् ।
एनपीएलको पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएपछि नेपालको खेल क्षेत्रमा 'गरेपछि हुन्छ' भन्ने भावसहित हामी खेलकुद विकासको उज्यालो सम्भावनातर्फ अघि बढेका छौं । क्रिकेट मात्रै होइन कुनै पनि खेलकुद प्रतियोगिताले हाम्रो आपसी सम्बन्ध र सहिष्णुता एवं राष्ट्रिय एकतालाई मजबुत बनाउन ठुलो टेवा पुग्छ ।
यस वर्षको एनपीएलको उपाधि लुम्बिनी लायन्सले जिते पनि अन्ततः देशले जितेको हो । एनपीएल सफलताको कामना गर्ने अझ भनौं नेपालमा खेलकुद गतिविधिहरू सफल भएको हेर्न चाहने सबैले एकसाथ जितेको हो । यसकारण यो उत्सव हामी सबैको हो ।