छैटौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिता आगामी माघ ९ देखि हुने

पुस ८, २०८२ |खेल ब्युरो
छैटौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिता आगामी माघ ९ देखि हुने

काठमाडौं । छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आगामी माघ ९ देखि हुने भएको छ ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालामा माघ १७ गतेसम्म आयोजना हुने प्रतियोगितामा यस पटक नेपाल, थाइल्यान्ड, माल्दिभ्स र भारतका महिला र पुरुषतर्फ सात-सात गरी १४ टोली सहभागी रहने आयोजकले जनाएको छ । महिलातर्फ नेपाल पुलिस, एपीएफ, त्रिभुवन आर्मी, न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब रूपन्देही र थाइल्यान्डबाट दुई टोली प्रतिस्पर्धामा उत्रनेछन् भने पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस, एपीएफ, त्रिभुवन आर्मी, पर्वत जिल्ला भलिबल संघ, माल्दिभ्स र भारतबाट एक-एक टोली खेल्ने टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए ।

प्रतियोगितामा विजेताले ६ लाख ६६ हजार र उपविजेताले ३ लाख ६६ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २६ हजार रुपैयाँ पाउनेछ । प्रतियोगितामा पहिलो पटक भारत र माल्दिभ्सबाटका रेफ्री राखिएको छ । प्रतियोगिता आयोजनामा करिब एक करोड ८० लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।