
काठमाडौं । इन्डो-नेपाल टी-२० च्याम्पियनसिपअन्तर्गत मंगलबार भएका खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएका छन् ।
भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एपीएफ क्लबले अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई १ सय ७ रनको फराकिलो अन्तरले पराजित गर्यो । एपीएफले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको पुलिस १३ दशमलव २ ओभरमा १ सय ५ रनमै अलआउट भयो ।
टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ५ विकेट गमाउँदै २ सय १२ रनको विशाल योगफल तयार पारेको थियो । सुमित महर्जनले ५८ तथा दीपक बोहोराले ५७ रनको अर्धशतकीय योगदान गरेका थिए। दीनेश अधिकारीले ८ बलमा अविजित ३७ र अमर सिंह रौटेलाले ७ बलमा २० रनको अविजित पारी खेले ।
पुलिसका लागि श्रवण यादवले ३ र सुजन थपलियाले एक विकेट लिए । जवाफमा पुलिसका लागि दीपेन्द्र रावतले ३५ र अर्जुन घर्तीले २२ रन बनाएका पनि बाँकी खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। पुलिसलाई अलआउट गर्न एपीएफका अविशेष गौतमले ३ दशमवल २ ओभरमा १८ रन खर्चिदै ४ विकेट लिए भने दीवन पुनले ३, भुवन कार्कीले २ र सलहुदिन खानले एक विकेट लिए ।
यस्तै मंगलबार नै भएको पहिलो खेलमा नियमित कप्तानसहित मुख्य चार खेलाडी बिनै मैदानमा उत्रिएको अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबले घरेलु टोली चितवन क्रिकेट क्लबविरुद्ध संघर्षपूर्ण जित हात पारेको छ । पहिले ब्याटिङ गरेको आर्मीले विकेटकिपर ब्याटर अर्जुन साउदको ९३ रनको महत्वपूर्ण अर्धशतकीय पारीको मद्धतमा ६ विकेटको क्षतिमा १ सय ७५ रनको योगफल तयार पारेको थियो ।
१ सय ७६ रनको लक्ष्य पछ्याएको चितवन १ सय ६२ रनमा अलआउट भएपछि आर्मीले १३ रनको जित हात पारेको हो । आर्मीका नियमित कप्तान विनोद भण्डारी, भीम सार्की, साहब आलम र बसिर अहमद टी-२० विश्वकपका लागि बन्द प्रशिक्षणमा समावेश भएपछि आर्मी जितेन्द्र सिंह ठकुरीको कप्तानीमा मैदानमा उत्रिएको थियो ।
चितवनका ब्याटर प्रतिक श्रेष्ठले विष्फोटक पारी खेल्दै आर्मीलाई अन्तिमसम्म दबाबमा राखेका थिए । अपराजित पौडेलको बलमा ४० बलमा ६२ रन बनाएका श्रेष्ठ बाउन्ड्री लाइनमा इमरान शेखको हातबाट क्याचआउट भएपछि आर्मी खेलमा फर्किएको थियो । आर्मीका लागि आकाश चन्दले ४ ओभरमा १५ रन खर्चिदै ४ विकेट लिए।
प्रतियोगिता अन्तरगत बुधबार दुई खेल हुँदैछन् । पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र भारतको तलतला भिड्ने छन् भने दोस्रो खेलमा चितवन क्रिकेट क्लब र भारतको दिल्ली वन्डर्स भिड्ने छन् ।