
काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले पार्टीको ११औँ महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्ने वातावरण नबनेको आरोप लगाउनुभएको छ ।
ईश्वर पोखरेलको समूहले आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले प्रतिनिधि छनाेट, बन्दसत्रदेखि निर्वाचनसम्म नै पार्टीका संचरचनाहरुको दुरुपयोग गर्ने काम भएको बताउनु भयो । यसले पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासमाथि प्रश्न चिन्ह खडा गरेको उहाँको भनाइ छ ।
उहाँले आगामी दिनमा यसको थप समिक्षा गर्ने पनि बताउनु भयो । उहाँले लोकतान्त्रिक अभ्यासमा सहभागी भएपछि आएको परिणामलाई भने स्वीकार गर्ने बताउनु भयो । एमाले अध्यक्ष केपी ओलीले ल्याएका राम्रा पक्षहरुलाई समर्थन गर्ने र पक्षपातपूर्ण व्यवहार भएर प्रतिवाद गर्ने उहाँले जानकारी दिनुभयो । उहाँले आगामी निर्वाचन लगायत बाह्य प्रतिस्पर्धामा भने एकजुट हुने बताउनु भयो । विचारको आधारमा पार्टीभित्र अन्तरसंघर्ष भने जारी रहने उहाँको भनाइ छ ।
उहाँले अध्यक्ष केपी ओलीको व्यवहारमा कुनै परिवर्तन नआएको उल्लेख गर्नुहुँदै सामुहिक निर्णय र नेतृत्व हस्तान्तरणको एजेन्डा भने उठाइरहने बताउनु भयो । उहाँले पार्टीभित्र अपमान हुनेगरी कसैको मानमर्दन गरेमा प्रतिवाद गर्ने चेतावनी पनि दिनुभयो ।
पार्टीको महाधिवेशनमा आफ्नो पक्षले सफलता हासिल गर्न नसेकोमा पनि समिक्षा गर्ने भेलाले निर्णय गरेको उहाँले जानकारी दिनुभयो । निर्वाचनमा सहभागी भएर सफलता हासिल नसकेकाहरूलाई विचलित नभइ पार्टी निर्माणमा लाग्न आग्रह गरेको पनि उहाँले बताउनु भयो ।