साम्बाको दुई गोलमा सिड्नीविरुद्ध वेलिङ्टन फिनिक्सको कीर्तिमानी जित

पुस ५, २०८२ |खेल ब्युरो
साम्बाको दुई गोलमा सिड्नीविरुद्ध वेलिङ्टन फिनिक्सको कीर्तिमानी जित

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी-साम्बाले २ गोल गरेपछि अष्ट्रेलियाको महिला 'ए' लिगमा वेलिङ्टन फिनिक्सले सिड्नी एफसीविरूद्ध कीर्तिमानी जित हात पारेको छ ।

शनिबार बिहान सम्पन्न खेलमा वेलिङ्टन फिनिक्सले सिड्नी एफसीलाई ७-० ले पराजित गर्दै क्लब इतिहासकै सबैभन्दा ठूलो जित दर्ता गरेको हो । यो सिड्नी एफसीको इतिहासकै सबैभन्दा ठूलो पराजयसमेत बनेको छ । खेलको सुरूदेखि नै वेलिङ्टनले पूर्ण नियन्त्रण जमाएको थियो । मनाइया एलियट, सावित्रा भण्डारी-साम्बा र ग्रेस जालेले गोल गरे भने सिड्नीका टोरी टुमेथ र साराह हन्टरबाट दुई आत्मघाती गोल हुन पुग्यो ।

वेलिङ्टनले तेस्रो मिनेट नपुग्दै अग्रता बनायो । टियर्ना रोबर्टसनले एलियटको प्रारम्भिक प्रहार बचाए पनि सिड्नीको कमजोर मार्किङको फाइदा उठाउँदै एलियटले रिबाउन्डमा गोल गरिन् । १३औँ मिनेटमा ब्रुक ननको उत्कृष्ट कर्नरमा साम्बाले हेडमार्फत गोल गर्दै फिनिक्सको अग्रता दोब्बर पारिन् । अष्ट्रेलियाको महिला 'ए' लिगमा साम्बाको यो पहिलो गोल थियो ।

पहिलो हाफ सकिनुअघि वेलिङ्टनले तेस्रो गोल थप्यो । कर्नरबाट आएको बल बक्सभित्र अल्झिए पनि ग्रेस जालेले शक्तिशाली प्रहारमार्फत गोलमा परिणत गरिन् । यो गोल जालेको सिजनको पहिलो तथा वेलिङ्टन फिनिक्स इतिहासको एक सयौं गोल पनि बन्यो ।

दोस्रो हाफ सिड्नीका लागि झनै कष्टकर रह्याे। जालेले दोस्रो गोल गर्दै संयुक्त रूपमा क्लब इतिहासकै सर्वाधिक गोलकर्ता बनिन् । पाँचौँ गोल साम्बाको नाममा रह्यो । ननको सटीक थ्रु बलमा सम्बाले रोबर्टसनलाई छक्याउँदै सजिलै गोल गरिन् । अन्तिम १० मिनेटमा सिड्नीले दुई आत्मघाती गोल गर्यो । 

यससँगै वेलिङ्टन फिनिक्सले सिड्नी एफसीविरूद्ध ७-० को ऐतिहासिक जित दर्ता गर्यो । यससँगै ६ खेलमा २ जित सहित ८ अंक जोडेको वेलिङ्टन लिगको सातौं स्थानमा पुगेको छ । ७ खेलमा ९ अंक जोडेको सिड्नी छैंटौं स्थानमा छ ।