सरकारलाई दाहालको चेतावनी : निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

पुस ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकारलाई दाहालको चेतावनी : निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनको मिति सार्ने दुःशाहस नगर्न सरकारलाई चेतावनी दिनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उहाँले तोकिएको मितिमा निर्वाचन गराउने कामलाई सरकारले कुनै पनि तर्क र बहानामा सार्ने काम गरे सह्य नहुने चेतावनी दिनुभएको हो । संयोजक दाहालले मुलुकमा सहज ढंगले समयमै निर्वाचन होस् भन्ने आफ्नो पार्टीले चाहेको र त्यसपछि धकेल्ने काम सरकारले गरे त्यसको विरूद्ध आफूहरू सडक संघर्षमा जाने समेत बताउनु भयो । 

उहाँले निर्वाचन पछि धकेलेर सरकारले फेरि संविधान मिच्ने काम गर्न नहुने दोहोर्‍याउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले भनेका छौं–सहज ढंगले निर्वाचन सम्पन्न होस् । सरकारलाई हामी भन्न चाहन्छौं–तपाईंहरु कुनै तर्क र बहानामा निर्वाचनको मिति सार्ने दुःशाहस नगर्नु होला । यदी तपाईंहरूले संविधान बारबार मिच्ने, एक चोटी त मिचिइसकिएको छ । त्यसमा हामीले देशको असहज स्थितिलाई हेरेर यो अन्तरिम सरकार बनाउन सहजीकरण गरेकै हो । तर फेरि यो सरकारले निर्वाचनको मिति सार्ने, यसलाई धकेल्ने काम गर्‍यो भने फेरि संविधान मिचिन्छ । यो काम गर्‍यो भने हामी चुप लागेर बस्ने छैनौं । शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गरियोस् । यदी त्यसो गरिएन भने, हामीमाथि खेलाची ठानियो भने यो शक्ति सडकमा आउनेछ । यसलाई कमजोरी नठानियोस् ।’

संयोजक दाहालले निर्वाचनलाई अघि बढाउने कुरामा कसैले पनि ब्यवधान खडा गर्न नहुने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.