
काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा शनिबार उपाधिका लागि नेपालको एपीएफ क्लबले भारतको इस्ट बंगालको सामना गर्नेछ।
लिग चरणका खेलहरूमा कुनै पनि गोलको सामना नगरेका यी टिमबीच शनिबार उपाधि भिडन्त हुनेछ। फाइनल खेल साँझ पाँच बजे दशरथ रंगशालामा सुरू हुनेछ। दक्षिण एसियाली क्षेत्रमा पहिलो पटक आयोजना भएको क्लबको प्रतियोगितामा दुबै टिम पहिलो ऐतिहासिक उपाधिको खोजीमा छन्।
इष्ट बंगाल लिग चरणमा शीर्ष टोलीको रूपमा फाइनलमा पुगेको थियो । उसले चार खेलमा तीन जित र एक बराबरीसहित १० अंक जोडेको थियो । एपीएफले चार खेल मध्ये दुई जित र दुई बराबरीसहित ८ अंक जोडेर फाइनलमा स्थान बनाएको थियो । लिग चरणमा दुबै टिमले गोलरहीत बराबरी खेल्दै अंक बाढेका थिए ।
इस्ट बंगालसँग तीन अफ्रिकी मुलका उत्कृष्ट खेलाडी छन्। युगान्डाकी फजिला इक्वापुटले अहिलेसम्म सात गोल गरेकी छन्। उनी जवारी प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने खेलाडी भएको कारण एपीएफले शनिबार उनीसँग अतिरिक्त सतर्कता अपनाउनु पर्नेछ। एपीएफकी रश्मी घिसिङ र इस्ट बंगालका सुलन्जनाले समान तीन-तीन गोल गरेका छन्। यी खेलाडी खेलको केन्द्रमा रहनेछन्।
प्रतियोगितामा दक्षिण एसियाका भारत, नेपाल, बंग्लादेश, भुटान र पाकिस्तानको घरेलु लिगको शीर्षस्थान हाासिल गरेका क्लबहरू सहभागी थिए। भुटानको लिग रोयल थिम्पु कलेजले जितेको भए पनि यो क्लबको व्यस्तताका कारण दोस्रो भएको क्लब ट्रान्सपोर्ट युनाइटेड साफको प्रतियोगितामा सहभागी बनेको हो।
यता बंगलादेशको नसरिनको टिमका अधिकांश खेलाडीले आउँदो एसियन कप खेल्ने भएको कारण टिमले पहिलो रोजाइँका धेरै खेलाडीलाई आराम दिएको थियो।