देशको प्रधानमन्त्री भई गोरूजस्तो जोतिएर देशको सेवा गर्न मन छ : नेत्रविक्रम चन्द

पुस ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
देशको प्रधानमन्त्री भई गोरूजस्तो जोतिएर देशको सेवा गर्न मन छ : नेत्रविक्रम चन्द

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले देशको प्रधानमन्त्री भई देशको सेवा गर्ने चाहना रहेको बताउनुभएको छ ।

काठमाडौंमा शनिबार आयोजित जेन-जीसँग अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आगामी निर्वाचनमा नेकपा माओवादीले पनि भाग लिने र जनताले विश्वास गरेमा देशको कार्यकारी भएर काम गर्ने चाहना भएको बताउनु भयो । तर तोकिएकै समयमा नेपालमा निर्वाचन हुनेमा उहाँले आशंका जनाउनु भयो । 

सुशिला कार्की नेतृत्वको सरकारले निर्वाचन गर्नेकुरा कसैले नपत्याएको उहाँको भनाइ छ । प्रहरी, कर्मचारीको मनोबल गिरेको, लुटिएका हतियार फिर्ता नभएको, निर्वाचनको लागि आवश्यक रकम नभएको कारण उल्लेख गर्नुहुँदै उहाँले निर्वाचन हुनेमा शंका व्यक्त गर्नुभयो । 

उहाँले सर्वपक्षीय अन्तरिम सरकार गठन गरेर अगाडि बढ्नुपर्नेमा पनि जोड दिनुभयो । सर्वसहमतिबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने उहाँको भनाइ छ । उहाँले जेन-जीको माग पनि प्रत्यक्ष निर्वाचित कार्यकारी नै भएको बताउनु भयो ।

उहाँले वर्तमान सरकारले जेन-जी आन्दोलनको मागअनुसार भ्रष्टचारीलाई कारबाही अगाडि नबढाएको आरोप पनि लगाउनु भयो । यो सरकारले जेन-जीका माग पूरा गर्न नसक्ने उहाँको भनाइ छ । उहाँले निर्वाचनमार्फत नयाँशक्तिको उदय हुनुपर्नेमा पुरानै शक्तिहरू सलबलाउन थालेको पनि बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.