
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एमाले) निर्वाचनको तयारीमा केन्द्रित भएको टिप्पणी गर्नुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उहाँले बाहिर जे बोले पनि एमालेले भित्रि रूपमा निर्वाचनको तयारी गरिरहेको जिकिर गर्नुभएको हो । अध्यक्ष दाहालले निर्वाचन मुलुकलाई निकास दिने सबै भन्दा सहजविकल्प भएकाले दोहोरो चरित्र नदेखाइ निर्वाचनको प्रक्रियालाई अघि बढाउने काममा एकताबद्ध भएर अघि बढ्न पनि एमालेलाई आग्रह गर्नुभयो ।
उहाँले नेपाली जनता निर्वाचनको तयारी अवस्थामा अघि बढी रहेको र कांग्रेसले पनि निर्वाचनमा जाने संस्थागत निर्णय गरेकाले अब निर्वाचनलाई सम्पन्न गर्ने काम नै राष्ट्रको मुख्य काम भएको बताउनु भयो । अध्यक्ष दाहालले भन्नुभयो,‘अहिले घोषणा भइसकेको निर्वाचन नै सबभन्दा सहज विकल्प हो । जनता विस्तारै निर्वाचनको लागि तयार भइराखेक छन् । राजनीतिक दलहरु कोही कोर्टमा गए पनि मैले बुझेसम्म नेपाली कांग्रेसले संस्थागत निर्णय निर्वाचनमा जाने गरिसकेको छ । एमाले पार्टी बाहिर जेसुकै कुरा बोले पनि उनको भित्रि तयारी निर्वाचनतिरै छ भन्ने देखिसकिएको छ । त्यसकारण डबल स्टयान्डरको कुरा नगरौं, सिंगै राष्ट्रलाई निर्वाचन प्रक्रियातिर अगाडि बढाउन सबै एकजुट होऔँ । यही नै नेपालको अहिले राष्ट्रिय आवश्यक्ता बन्न गएको छ ।’
अध्यक्ष दाहालले निर्वाचन मुलुकको राष्ट्रिय आवश्यक्ता भएकाले त्यसबाट पछि हटन नमिल्ने पनि बताउनु भयो ।