एमाले महाधिवेशन : मतदान हलभित्र प्रवेश गरिसक्नुपर्ने समय ८ बजेसम्म थप

अहिलेसम्म ७ सय ५३ जनाले मत खसाले
पुस २, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमाले महाधिवेशन : मतदान हलभित्र प्रवेश गरिसक्नुपर्ने समय ८ बजेसम्म थप

काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ। 

मंगलबार बारम्बार समय सारेको एमालेले बुधबार बिहान दस बजेपछि मतदान सुरू भएको हो । मतदानका लागि हलभित्र प्रवेशको समय राति ८ बजेसम्मका लागि थप गरिएको छ । बिहान मतदान सुरू हुँदा मतदानका लागि भित्र प्रवेश गरिसक्नु पर्ने समय साँझ पाँच बजेसम्म तोकिएको थियो । अहिलेसम्म ७ सय ५३ जनाले मत खसालेका छन् । 

११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि २ हजार २ सय ६३ प्रतिनिधिले मतदान गर्दैछन् । एक जनालाई मत हाल्न कम्तिमा ३५ मिनेट लाग्ने बताइएको छ । यसआधारमा मतदान रातभर लम्बिन सक्ने देखिन्छ ।

बिहान सुरूमै मतदान गरेका अध्यक्षका प्रतिस्पर्धी केपी शर्मा ओली र ईश्वर पोखरेलले नै मत खसाल्न आधा घन्टाभन्दा बढी समय लगाउनुभएको थियो । दुबै नेता प्यानल नै बनाएर नेतृत्वको प्रतिस्पर्धामा छन् । काठमाडौंको भृकुटीमण्डपमा नयाँ नेतृत्वका लागि १९ पदाधिकारीसहित ३ सय १ जना केन्द्रीय सदस्यको निर्वाचन हुँदैछ ।

मतदानका लागि ८० ठाउँमा विद्युतीय मतपत्र राखिएको छ । बाहिर पूर्वअभ्यासका लागि १० वटा नमुना मतपत्र राखिएको छ । एमालेमा १९ पदाधिकारीसहित ३ सय १ जना केन्द्रीय सदस्यका लागि ६ सय ४४ जनाले उम्मेदवारी दिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.