साफ महिला क्लब च्याम्पियनसिप : एपीएफ इष्ट बंगालसँग भिड्दै

पुस २, २०८२ |खेल ब्युरो
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफ इष्ट बंगालसँग भिड्दै

काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिप २०२५ अन्तर्गत राउन्ड रोविनको अन्तिम खेलमा बुधबार घरेलु टोली नेपाल एपीएफ फुटबल क्लबले भारतको इष्ट बंगालसँग प्रतिस्पर्धा गर्दैछ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ६ बजे सुरू हुनेछ । दुबै टोली यस अघिनै फाइनलमा प्रवेश गरिसकेका कारण यो खेल उपाधि भिडन्त अघिको तयारी हुनेछ । इष्ट बंगालले जारी प्रतियोगितामा सत प्रतिशत नतिजा हात पारेको छ । 

यसले यस अघि ट्रान्सपोर्ट युनाइटेड भुटानलाई ४-०, कराची सीटी एफसी पाकिस्तानलाई २-० र बंगलादेशको नसरिन स्पोर्टस एकेडेमीलाई ७-० ले हराइसकेको छ । प्रतियोगितामा हाल सम्म कुनै गोल नबेहोरेको इष्ट बंगालले सबै खेलमा क्लिन सिट राखेको छ ।

अपराजित एपीएफले दुई जीत र एक बराबरी खेलेको छ । एपीएफले नसरिन स्पोर्टस एकेडेमीलाई ४-० ले पराजित गर्दै प्रतियोगिताको सुरूवात गरेको थियो । आफ्नो दोस्रो खेलमा ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहीत बराबरीमा रोकिए पनि एपीएफले त्यसपछि कराचीलाई १-० ले हराएको थियो । एपीएफले पनि प्रतियोगितामा अहिलेसम्म कुनै गोल बेहोरेको छैन ।

इष्ट बंगालकी फजिला इक्वापुटले अहिलेसम्म सर्वाधिक ७ गोल गरेकी छन् । दोस्रो स्थानमा रहेकी एपीएफकी रस्मी घिसिङ र इष्ट बंगालकै सुलञ्जना राउलको नाममा समान ३-३ गोल छ । बुधबार दिउँसो २ बजे भुटानको ट्रान्सपोर्ट युनाइटेड एफसी र नसरिन स्पोर्टस् एकेडेमी प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल शनिबार खेलिने छ ।