
काठमाडौं । सरकारले जेन-जी आन्दोलनपछि गठित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले सो आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितका आयोगका पदाधिकारीहरूसँगको भेटमा आयोगको म्याद थप गर्ने बताउनुभएको हो । आफूहरूको मागअनुसार प्रधानमन्त्री कार्कीले आयोगको म्याद थप गर्ने बताउनुभएको आयोगका अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री कार्कीसँग भेट गरी अध्यक्ष कार्कीले काम नसकिएको भन्दै आयोगको म्याद एक महिना थप गर्न आग्रह गर्नुभएको थियो । आयोगको उक्त मागअनुसार म्याद थप गर्न प्रधानमन्त्री कार्की सहमत हुनुभएको अध्यक्ष कार्कीले बताउनु भयो ।
उहाँले भन्नुभयो,‘हाम्रो म्याद सकिन लाग्यो । काम अझै बाँकी छ । हामी प्रधानमन्त्रीज्युसँग त्यही कुराकानी गर्न आएको हौँ । एक महिना हामीलाई थप्नु पर्छ । समय पुगेको छैन । के गर्ने भन्दाखेरी दुई हप्ता बढी त बिदा नै भयो । प्रहरीले एक महिनासम्म लिष्ट पठाएन । त्यसकारण काम गर्न ढिलाइ भयो । त्यसकारण एक महिना थप्नु पर्यो भन्यौँ । प्रधानमन्त्रीज्यूले प्रस्ताव पठाउनु थपिदिन्छु भन्नुभयो ।’
आयोगको म्याद यही पुस ९ गते सकिँदैछ । कार्यादेशअनुसार बाँकी कामलाई पूरा गर्न थप एक महिनाको समय आवश्यक भएकाले प्रधानमन्त्री कार्कीसँग सो विषयमा छलफल गरिएको अध्यक्ष कार्कीले बताउनु भयो ।