
काठमाडौं । अस्ट्रेलियाका अलराउन्डर क्यामरून ग्रीनले आईपीएल इतिहासमा नयाँ कीर्तिमान बनाएका छन् ।
अबुधाबीमा जारी मिनी अक्सनमा उनलाई कोलकाता नाइट राइडर्सले २५ करोड २० लाख रूपैयाँमा भित्र्याएको छ । यससँगै ग्रीन आईपीएलका सबैभन्दा महंगा विदेशी खेलाडी बनेका छन् । उनले आफ्नै देशका मिचेल स्टार्कको कीर्तिमान तोडेका हुन् ।
स्टार्कलाई केकेआरले २०२४ मा २४ करोड ७५ लाख रूपैयाँमा किनेको थियो । समग्रमा भने ऋषभ पन्त २७ करोड रूपैयाँसहित आईपीएल इतिहासकै सबैभन्दा महंगा खेलाडी हुन् । अक्सनमा युवा भारतीय खेलाडीहरूले पनि ठूलो मूल्य पाएका छन् ।
२० वर्षीय प्रशान्त वीर र १९ वर्षीय कार्तिक शर्मालाई चेन्नई सुपर किङ्सले समान १४ करोड २० लाख रूपैयाँमा अनुबन्ध गरेको छ । ३० लाख रूपैयाँको बेस प्राइज रहेका यी दुई खेलाडी ४७ गुणा बढी मूल्यमा बिक्री भए ।कोलकाताले श्रीलंकाका मथीशा पथिरानालाई १८ करोड रूपैयाँमा भित्र्यायो ।
रवि विश्नोईलाई राजस्थान रोयल्सले ७ करोड २० लाख रूपैयाँमा किनेको छ । यस्तै, वेंकटेश अय्यर ७ करोड भारतीय रूपैयाँमा आरसीबीमा सामेल भए । अघिल्लो वर्षको मेगा अक्सनमा उनलाई केकेआरले २३ करोड ७५ लाख रूपैयाँमा किनेको थियो ।
कोलकाताले क्यामरून ग्रीनलाई २५ करोड २० लाख रूपैयाँमा किने पनि उनले १८ करोड रूपैयाँमात्रै पाउनेछन् । बाँकी ७ करोड २० लाख रूपैयाँ बीसीसीआईको वेलफेयर फन्डमा जम्मा गरिनेछ । अत्यधिक मागका कारण मूल्य अस्वाभाविक रूपमा नबढोस् भन्दै बीसीसीआईले गत वर्षदेखि नै मिनी अक्सनमा विदेशी खेलाडीका लागि १८ करोड रूपैयाँको अधिकतम सीमा तोकेको थियो ।