धनुषा र सिरहा जोड्ने कमला नदीमा बनेको झोलुङ्गे पुल : लाभसँगै विकृति पनि

कृषि उपजको बजारीकरणमा सहज, सुरक्षामा स्थानीय सरकारको तदारूकता नपुग्दा पुल कमजोर बन्दै
पुस २, २०८२ |अनिल मिश्र
धनुषा र सिरहा जोड्ने कमला नदीमा बनेको झोलुङ्गे पुल : लाभसँगै विकृति पनि

धनुषा । धनुषा र सिरहा जोड्ने कमला नदीमा कञ्चनपुरको दोधारा चाँदनी भन्दा लामो झोलुङ्गे पुल निर्माण भएको झन्डै दुई वर्ष हुन लागेको छ । 

पुल निर्माणपछि दुबै जिल्लालगायत भारतीय सीमावर्ती क्षेत्रका नागरिकलाई कमला नदीको अवरोध छिचोल्न सहज भएको छ भने शिक्षा, स्वास्थ्य उपचार र कृषि उपजको बजारीकरणमा पनि मद्दत पुगेको छ । तर झोलुङ्गे पुलको प्रयोग र सुरक्षामा स्थानीय सरकारको तदारूकता नपुग्दा पुल कमजोर बन्दै गएको छ ।

नेपालकै सबैभन्दा लामो १५ सय ४४ मिटरको कमला नदीमा बनेको यो झोलुङ्गे पुलले धनुषा र सिरहालाई जोड्छ । स्थानीयलाई मधेशको राजधानी जनकपुरधाम आउजाउ गर्न सहज बनाएको छ । खासगरी हुलाकी राजमार्गअन्तर्गत कमला नदिमा निर्माणाधीन पक्की पुल समुदघाटन अगावै ४ वर्ष अघि भासिएपछि यात्रुहरूले अहिले यो झोलुङ्गे पुललाई वैकल्पिक माध्यम बनाएको छ । यहाँ दिनहुँ  सयौंको संख्यामा धनुषा, सिरहालगायत भारतीय सीमावर्ती क्षेत्रका सर्वसाधारण हेर्न र घुमघामका लागि आउने गर्छन् ।

धनुषा र सिरहा जिल्लाको सिमाना भएर बग्ने कमला नदीमा निर्माण गरिएको कठाल मल्हनिया मल्टिस्पान यस झोलुङ्गे पुलले धनुषाको पूर्वी भेग र सिरहाका बासिन्दालाई जनकपुरधाम तथा अन्य स्थानमा आउजाउ गर्न सहज भएको छ । महेन्द्र राजमार्ग वा भारतीय बजार जयनगर भएर जानुपर्ने बाध्यता हटनुका साथै शिक्षा, स्वास्थ्य उपचार र कृषि उपजको बजारीकरणलगायत आर्थिक विकासमा टेवा पुगेको छ ।

पुलको भार क्षमता ५ सय ४० मेट्रिक टन रहेको छ भने तीन हजार आठ सय ८६ पैदल यात्री आउजाउ गर्न सक्छन् । १ दशमलव २ मिटर मात्र चौडाइ रहेको यस पुलमा जथाभावी मोटरसाइकल हुँक्याउदा पैदल यात्रीहरु हैरान त भएको छ भने सुरक्षाको लागि लगाइएको तार चुडिने र नट भोल्ट खुस्केर पुल कमजोर हुन थालेको छ ।

स्थानीय सरकारको मौनता र स्थानीय प्रशासनको कमजोर उपस्थितका कारण घुम्न र हेर्नका लागि यहाँ आउने महिला र युवतीहरूसँग उच्छृंखल युवाहरूद्वारा दुर्व्यवहारका घटना समेत हुँदै आएको घटना छ । केही स्थानीयले अनाधिकृत रूपमा गाडी पार्किङ शुल्क पनि उठाउने गरेका छन् ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०८० साल फागुन १२ गते एक भव्य समारोहका बिच समुदघाटन गर्नुभएको यस झोलुङ्गे पुलको लागत २८ करोड रहेको खर्च । २०७९ साल मंसिर २ गते देखि विधिवत रूपमा सुरू भएको र यसको निर्माण कार्य निर्धारित समय भन्दा ६ महिना अगावै सम्पन्न भएको थियो । 

यसअघि सबैभन्दा लामो भनिएको कञ्चनपुरस्थित महाकाली नदीमाथि बनाइएको १ हजार ४ सय ५३ मिटर भन्दा यो झोलुङ्गे पुल ९१ मिटर लामो छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।