
काठमाडौं । १५औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीप पुस ३ देखि ५ गतेसम्म नेपालमा आयोजना हुने भएको छ ।
प्रतियोगितामा क्यारूगी र पुम्से दुबै विधा समावेश गरिएको आयोजक आई-ओ-एफ-टी-सी नेपालले जनाएको छ । सिनियर पुरूष र महिलाको समान ८-८ तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने जुनियरतर्फ महिला र पुरूष गरी दस-दस तौल समूह र क्याडेट वर्गमा दस-दस तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
सिनियर, जुनियर र क्याडेट पुम्सेमा व्यक्तिगत, जोडी र टिम गरी तीन इभेन्टमा प्रतिस्पर्धा हुनेछ । यसबाहेक बोर्ड ब्रेकिङ इभेन्ट पनि सामेल गरेको छ । प्रतियोगितामा कूल ६५ स्वर्ण पदक, ६५ रजत पदक र १३० कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । यसवाहेक बोर्ड ब्रेकिङ इभेन्टमा पनि पदक दिइनेछ ।
प्रतियोगितामा नेपान, दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, अष्ट्रिया, क्यानाडा, पाकिस्तान, भारत, हङकङ, चिन, मेक्सिको, माल्दिभ्स र बंगलादेशलगायतको सहभागिता रहनेछ । प्रतियोगितामा करिब एक हजार खेलाडी, प्रशिक्षक र रेफ्रीको सहभागिता रहनेछ ।
खेलहरू राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आयोजना हुनेछन् । नेपाली खेलाडीका लागि यो सन् २०२६ मा अस्ट्रेलियामा हुने १६औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपको छनोट पनि हो । यसै प्रतियोगिताको प्रदर्शनका आधारमा अस्ट्रेलियामा हुने प्रतियोगिताका लागि खेलाडी चयन गरिनेछ ।