मधेश प्रदेश : सभामुख चयनका लागि पुस ६ गते निर्वाचन

पुस ५ गते मनोनयन दर्ता
पुस २, २०८२ |अनिल मिश्र
मधेश प्रदेश : सभामुख चयनका लागि पुस ६ गते निर्वाचन
जनकपुर । मधेश प्रदेशको झन्डै एक महिनादेखि रिक्त रहेको सभामुख चयनका लागि यही पुस ६ गते निर्वाचन गर्ने सहमति भएको छ । 

उपसभामुख बबिता कुमारी राउत ईशरले बुधबार बोलाउनु भएकाे सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो । नयाँ सभामुख चयनका लागि यहि आउँदो पुस ५ गते मनोनयन दर्ता र ६ गते निर्वाचन गर्ने सहमति भएको नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले जानकारी दिनुभयो । 

सर्वदलीय बैठकमा महाधिवेशनका कारण एमालेका प्रतिनिधि भने अनुपस्थित थिए । मंसिर ३ गतेदेखि रिक्त रहेको सभामुख चयन प्रयोजनका लागि सर्वदलीय बैठकपछि बुधबारनै प्रदेश सभाको बैठक पनि बोलाइएको छ । पदीय अनुकूल आचरण नगरेको प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएपछि तात्कालीन सभामुख रामचन्द्र मण्डल पदमुक्त हुनुभएको थियो । 

गएको मंसिर ३ गते बुधबार बसेको मधेश प्रदेश सभाको बैठकले मत विभाजन प्रक्रियामार्फत दुई तिहाइ बहुमतले पारित गर्दै मण्डललाई पदमुक्त गरेको थियो। नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले दर्ता गराउनु भएको प्रस्तावको पक्षमा ७६ मत परेको उल्लेख गर्दै उपसभामुख बबिताकुमारी राउत ईशरले प्रदेश सभा बैठकमा पदमुक्त भएको घोषणा गर्नुभएकाे थियाे । 

सो दिन १०७ मध्ये प्रदेश सभा बैठकमा ७८ जना प्रदेश सांसदहरूको मात्र उपस्थिति रहेको थियो । गत २७ कात्तिकमा सभामुख मण्डलमाथि पद अनुकूल आचरण नगरेको भन्दै सात दलिय गठबन्धनका ६४ जना प्रदेश सांसदहरूले प्रस्ताव दर्ता गराएका थिए ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।