चार करोड खर्चेर बनेको तानसेन टुँडिखेल दुई वर्षमै बेहाल, नगरपालिकाको बेवास्ताले खेलाडी निराश

पुस २, २०८२ |कान्तिपुर टीभी संवाददाता
चार करोड खर्चेर बनेको तानसेन टुँडिखेल दुई वर्षमै बेहाल, नगरपालिकाको बेवास्ताले खेलाडी निराश

पाल्पा । पाल्पाको तानसेनस्थित टुँडिखेल मैदानको स्तरोन्नति भएपछि यहाँका खेलप्रेमी तथा खेलाडीहरू उत्साहित भएका थिए । 

तर पाँच वर्ष लगाएर मैदान सम्याउने, दुबो लगाउने, फुटबल कोर्ट निर्माणलगायतका काम भएका थिए । यसले तानसेनको खेलकुद विकासमा केही आशा जगाएको थियो । तर पाँच वर्ष लगाएर गरेको काम तानसेन नगरपालिकाको बेवास्ताले दुई वर्ष पनि टिकेन ।

तानसेनको गहनाकोरूपमा परिचित टुँडिखेल मैदान स्तरोन्नति भएपछि खेलाडी उत्साहित थिए । यसअघि स्तरोन्नति नहुँदा खेलाडीहरूले पाँच वर्षसम्म कुनै पनि खेल अभ्यास गर्न पाएका थिएनन् । टुँडिखेल सुधार योजनाअनुसार स्तरोन्नति सकिएपछि भने तानसेन नगरपालिकाले खेल मैदानलाई बेवास्ता गरेको छ । 

झन्डै चार करोड खर्चेर स्तरोन्नति गरेको मैदानमा खाल्डैखाल्डा छन् । दुबो मगरेर धुलो निस्किएको छ । खेलाडीलाई अभ्यास गर्नसमेत समस्या छ । धेरै जाडो र धेरै गर्मी नहुने तानसेनमा टुँडिखेल स्तरोन्नति भएपछि संघ, प्रदेश र जिल्लास्तरीय प्रतियोगिताले निरन्तरता पाउने अपेक्षा थियो । 

खेलाडीलाई अभ्यास गर्न सहज भए पनि अहिले नगरपालिकाले मर्मतसम्भारमा ध्यान दिएको छैन। तानसेन नगरपालिकाको तीन करोड ८२ लाख ९४ हजार रुपैयाा लागतमा मैदानको स्तरोन्नति गरेको थियो । विकासे दुबो रोपे पनि दैनिक खेल अभ्यास हुँदा मर्ने, हरियाली नहुने समस्या भएको तानसेन नगरपालिकाले जनाएको छ । मैदानको मर्मतसम्भारमा नगरपालिका पनि अन्योलमै देखिएको छ ।

मैदानमा विगत दुई वर्ष मेला महोत्सव आयोजना गरिनु, मेला महोत्सवबाट भएको आम्दानी यसमै लगानी नगर्नु अर्को समस्या हो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.