दाङ । सरकारले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा गर्ने घोषणा गरेको छ ।
चौथोपटक मिति तोकिँदा प्रदेश तथा जिल्लास्तरमा खेलाडीहरूको छनाेट, बन्द प्रशिक्षणलगायतका गतिविधिको तयारी भने शून्यजस्तै छ । केन्द्रले परिपत्र र बजेट नपठाएका कारण तयारी सुरू हुन नसकेको प्रदेश तथा जिल्ला तहका खुलकुद परिषद्हरूले बताइरहँदा प्रतियोगिता हुने हो कि होइन भन्ने अन्याेल प्रष्ट देखिन्छ ।
कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउन अब दुई महिनामा मात्रै बाँकी छ । फागुन १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि यतिबेला केन्द्रदेखि प्रदेश हुँदै जिल्ला तहसम्म खेलकुदको तयारी तिव्ररूपमा अघि बढ्नुपर्ने हो । तर त्यसो हुनै सकिरहेको छैन ।
लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा राष्ट्रियस्तरका खेलहरू भएका रङ्गशालासमेत यतिबेला सुनसान छन् भने जिल्लामा रहेका खेलकुद परिषद् पनि केन्द्र तथा प्रदेशस्तरबाट कुनै परिपत्र नभएको भन्दै फुर्सदिला देखिन्छन् ।एथेलेटिक्सकी राष्ट्रिय कीर्तिमानी खेलाडी निशा चौधरी, सीमा चौधरी, तेक्वान्दोका स्वर्ण पदक विजेता बिरूभाइ बज्राचार्य, खोखो खेलका वसन्त वलीलगायतका खेलाडीहरू १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कुरेर बसेका छन् भने सकेजतिको आन्तरिक तयारी पनि गरिरहेका छन् । तर खेल हुने हो कि होइन भन्ने अन्याेलका कारण त्यति उत्साह नभएको बताउँछन् ।
अहिलेसम्ममा स्थानीय तह, जिल्ला र प्रदेशका खेलाडी छनोट सम्पन्न गरेर बन्द प्रशिक्षण सुरू गर्नुपर्ने समय हो । १०औँ राष्ट्रिय खेलकुदको तयारीका लागि आफूहरू तयार रहे पनि तयारीका लागि चाहिने स्रोतसाधनको व्यवस्था र कार्यतालिका नभएका कारण कुनै पनि गतिविधि अघि बढ्न नसकेको लुम्बिनी प्रदेश खेलकुद परिषद्को भनाइ छ ।
२०८१ मंसिर, २०८१ चैत, २०८२ जेठ र चौथोपटक २०८२ फागुनमा गरी चारपटक १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने भनेर मिति तोकिएको छ । तर खेलाडी छनाेट, बन्द प्रशिक्षण र अन्य तयारीबारे भने कहीकतैबाट पहल भएको देखिँदैन ।
जसका कारण १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहेका खेलाडीहरू छन् भने समग्र खेलक्षेत्रको विकासमा अवरोध आउने देखिन्छ ।