समयमै निर्वाचन गराएर लोकतन्त्र र संविधानको रक्षा गर्नुपर्छ : शर्मा

अन्तरिम सरकार संविधानबाहिर बनेको हो :- निर्मला शर्मा, अध्यक्ष, नेपाल पत्रकार महासंघ
पुस २, २०८२ |पुजन धिताल
समयमै निर्वाचन गराएर लोकतन्त्र र संविधानको रक्षा गर्नुपर्छ : शर्मा

काभ्रे । नेपाल पत्रकार महासंघ, काभ्रेको ३३औँ स्थापना दिवस तथा वेबसाइट सार्वजनिक कार्यक्रमसँगै ‘पत्रकारिता दर्पण’ नामक पुस्तक विमोचन सम्पन्न गरिएको छ। 

पत्रकार महासंघ काभ्रेको आफ्नै भवन बनेपा वडा नं. ६ स्थित बुडोलमा आयोजित समारोहबीच महासंघ काभ्रेले आफ्नो आधिकारिक वेबसाइट तथा ‘पत्रकारिता दर्पण’ सार्वजनिक गर्दै सदस्य विवरण तथा अन्य महत्वपूर्ण सूचनालाई डिजिटलाइज गरेको हो।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा काभ्रे आउनु भएकी नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले जेन-जी आन्दोलनपछि बनेको सरकार संविधानबाहिर गएर निर्माण भएको बताउनुभयो। उहाँले वर्तमान अवस्थामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित हुन नदिन आन्दोलनपछि बनेको सरकारले तोकिएकै समयमा निर्वाचन गराउन खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो। 

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता भएको संविधानलाई जोगाइराख्न स्वतन्त्र नागरिक समूहसहित नेपाल पत्रकार महासंघ र सबै छाता संगठनहरूले भूमिका खेल्नुपर्ने बताउनुभयो। शर्माले वर्तमान सरकारले ल्याउन लागेको विभिन्न कानुनप्रति आपत्ति जनाउँदै, रोक्नेदेखि प्रेसमैत्री कानुन ल्याउन महासंघले निरन्तर काम गर्दै आएको उल्लेख गर्नुभयो। 

यी कार्य नगरे लोकतन्त्र र संविधानमै खतरा पर्ने संकेत देखिएको बताउँदै उहाँले अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि महासंघले निरन्तर कार्य गर्दै आएको स्मरण गराउनुभयो। संविधानबाहिर बनेको अन्तरिम सरकारले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न नसके अन्ततः संविधान, लोकतन्त्र र नेपाल पत्रकार महासंघ नै जोखिममा पर्न सक्ने खतरा अझै कायम रहेको भन्दै उहाँले समग्र पत्रकारिता जगतले निरन्तर खबरदारी राख्न अपिल गर्नुभयो।

स्थापना दिवस तथा सार्वजनिक कार्यक्रममा बागमती प्रदेश कार्यसमिति अध्यक्ष कृष्ण सारु मगरसहित काभ्रेका पूर्व अध्यक्ष तथा सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो। सार्वजनिक गरिएको ‘पत्रकारिता दर्पण’मा पत्रकारिता अध्ययन तथा नयाँ प्रविधिमार्फत तयार गरिएका लेख तथा रचनाहरू समावेश गरिएको छ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।