ओल्ड ट्राफोर्डमा इतिहास दोहोर्याउने बर्नमथको चुनौती, फर्ममा फर्किएको युनाइटेड जितको खोजीमा

मंसिर २९, २०८२ |खेल ब्युरो
ओल्ड ट्राफोर्डमा इतिहास दोहोर्याउने बर्नमथको चुनौती, फर्ममा फर्किएको युनाइटेड जितको खोजीमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग-इपीएलअन्तर्गत यो हप्ताको अन्तिम खेलमा म्यानचेस्टर युनाइटेडले बर्नमथलाई आतिथ्यता प्रदान गर्नेछ। 

घरेलु टोली युनाइटेड पछिल्लो खेलमा उल्भ्समाथि ४-१ को सानदार जित निकाल्दै आत्मविश्वासमा फर्किएको छ। चोटबाट फर्किएका खेलाडीको उपलब्धताका कारण बर्नमथ पनि उच्च फर्ममा छ। पछिल्लो खेलमा दुई गोल र एक असिस्ट गरेका ब्रुनो फर्नान्डेज अहिले टिमको निर्णायक भूमिकामा देखिएका छन्। 

मेसन माउन्ट र ब्रायन पनि उच्च फर्ममा छन्। पछिल्ला नौ खेलमध्ये आठमा अपराजित रहँदै सात अंक बटुल्न सफल युनाइटेड अंकतालिकाको आठौं स्थानमा छ। जसले प्रशिक्षक रूबेन आमोरिममाथिको विश्वास सही सावित भइरहेको संकेत दिएको छ।

तर, ओल्ड ट्राफोर्डमा टिमले जितका लागि अझै निरन्तरता दिन सकेको छैन्। यो विषय चुनौतीकै रूपमा देखिएको छ। पछिल्ला दुई घरेलु खेल जितविहीन रहँदा, यो सिजन प्रिमियर लिगका १५ मध्ये १४ खेलमा युनाइटेडले कम्तिमा एक गोल भने खाएको तथ्यले उसको रक्षात्मक कमजोरी उजागर गर्छ। बर्नमथको अवस्था पनि उत्साहजनक छैन। 

नटिङ्घम फरेस्टमाथि अक्टोबरको अन्त्यमा २-० को जितपछि पछिल्ला छ लिग खेलमा उनीहरू जितविहीन छन्। १८ सम्भावित अंकमध्ये मात्र दुई अंक जोडेको छ। तर, आज बर्नमथका मुख्य प्रशिक्षक एन्डोनी इराओलालाई आज टिम छनोटमा दोहोरो राहत मिल्नेछ। प्रतिबन्धबाट मुक्त भएका टायलर एडम्स टोलीमा फर्किने छन् भने अर्जेन्टिनी डिफेन्डर मार्कोस सेनेसीको उपलब्धताबारे पनि आशा कायम छ। 

हाल फर्ममा संघर्ष गरिरहेका एन्टोइन सेमेन्कोले पछिल्ला सात प्रिमियर लिग खेलमा गोल वा असिस्ट गर्न सकेका छैनन्। जनवरीमा म्यानचेस्टर युनाइटेडसँग जोडिएको ६५ मिलियन पाउन्डको सम्भावित ट्रान्सफर चर्चाबीच उनले यो खेलमा प्रभावशाली प्रदर्शन गर्नुपर्ने दबाबमा छन्। 

आक्रमण क्षमतामा आएको गिरावटका कारण बर्नमाउथ लगातार तेस्रो खेलमा गोल गर्न असफल हुने जोखिममा छ। यस्तो अवस्था उनले सन् २०२२/२३ यता भोगेका छैनन्। यद्यपि इतिहासले बर्नमथलाई केही आत्मविश्वास दिन सक्छ। चेरिजले पछिल्ला दुई सिजनमा ओल्ड ट्राफोर्डमै म्यानचेस्टर युनाइटेडलाई ३-० ले पराजित गरेका छन्।