जेन-जी आन्दोलनपछि अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर गर्ने क्रम बढ्दाे

पुस १, २०८२ |किरण पौडेल
जेन-जी आन्दोलनपछि अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर गर्ने क्रम बढ्दाे

काठमाडौं । सुशासन र भ्रष्टाचार अन्त्यको मागसहित भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गर्ने क्रम पनि बढेको छ ।

आन्दोलनयतामात्रै विशेष अदालतमा ४४ वटा मुद्दा दर्ता भएका छन्, जसमा पोखरा विमानस्थल निर्माणमा अनियमिततादेखि भिजिट भिसा प्रकरणका मुद्दासम्म छन् । अख्तियारले चालु आर्थिक वर्षको ४ महिनामा ५७ वटा मुद्दा विशेष अदालतमा लगेकोमा ४७ वटा त जेन-जी आन्दोलनयता दायर गरिएका छन् । 

गत आर्थिक वर्षको पहिलो चार महिनामा ३७ वटा मुद्दा दर्ता भएकोमा यस वर्ष विशेष अदालतमा जाने मुद्दा ५४ प्रतिशतले बढेको हो । चालु आर्थिक बर्षमा सार्वजनिक रूपमा चासो राखिएका मुद्दाहरू हुन्- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता , भिजिट भिसा प्रकरण , राप्ति स्वास्थ्य विज्ञान प्रतिस्ठानमा भएको अनियमितता तथा मेमोग्राम मेसिन खरिद प्रकरण । 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणको प्रक्रियामा जोडिएका पाँच पूर्वमन्त्रीसहित ५५ अधिकारीहरू र चिनियाँ कम्पनीलाई विपक्षी बनाइएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको मुद्दामा अख्तियारले करिब ८ अर्ब ३७ करोड रूपैयाँ बिगो मागदाबी गरेको छ ।

पूर्व मन्त्रीहरू भीम आचार्य, रामकुमार श्रेष्ठ, दीपक अमात्य, डा. रामशरण महत र स्वर्गीय पोष्टबहादुर बोगटीलाई विपक्षी बनाएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अनियमिततामा समेत संलग्न भनिएका नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक प्रदीप अधिकारी नलिनचोक हेलिपोर्ट निर्माणको भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । 

स्वास्थ्य मन्त्रालयकी पूर्वअतिरिक्त सचिव संगिता कौशल मिश्रा मन्त्री बन्नै लाग्दा मेमोग्राम मेसिन खरिदमा भएको अनियमिततामा मुछिएपछि सपथ रोकिएको थियो ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।