
काठमाडौं । आगामी पुस २५ गतेदेखि सुरू हुने भनिएको राष्ट्रिय लिग फुटबलका लागि १६ क्लबले दर्ता गरेका छन्।
गत सिजन 'ए' डिभिजन लिग खेलेका सबै क्लबलाई सहभागिताका लागि खुल्ला गरिएको भए पनि मनाङ मर्स्याङदी क्लब र हिमालयन शेर्पा क्लब भने दर्तामा नआएको एन्फाले जनाएको छ। एन्फाको आपतकालीन बैठकले लिगको मिति पुस २५ गतेलाई तोकेपछि आइतबारसम्मका लागि टिम दर्ताको समय थियो ।
जसअनुसार 'ए' डिभिजन लिग मान्यता पाएका १२ क्लब र एन्फा प्रेसिडेन्ट लिगबाट छनोट भएका चार टिम गरी १६ टिम दर्ता भएका हुन् । गत सिजनको 'ए' डिभिजन लिगमा शीर्ष ६ मा रहेका चर्च बोइज, मछिन्द्र, नेपाल पुलिस, जावलाखेल युथ, सातदोबाटो र एनआरटीले दर्ता गरे। त्यसैगरी गत वर्ष 'ए' डिभिजनमा सहभागी भएका क्लबहरू आर्मी, संकटा, फ्रेन्ड्स र एपीएफले पनि लिगमा दर्ता गरेका छन्।
त्यसैगरी, राष्ट्रिय लिगबाट छनोट भएका लाँलीगुरास युवा क्लब, चिल्ताङ, नव जागृति र काँक्रेविहार स्पोट्सले पनि राष्ट्रिय लिगमा दर्ता गरेका छन्। यसैगरी प्लानिङ बोइज र श्री भगवतीले पनि राष्ट्रिय लिग खेल्ने भएका छन्। तर हिमालयन शेर्पाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले लिग हुने टुंगो नभएको, अहिलेसम्म प्रतियोगिता नियमावली नआएको र लिग रोकिए के हुने भन्ने विषय टुंगो नलागेको कारण आफूले नखेल्ने बताएका छन्।
मनाङ् मर्स्याङ्दी क्लबले भने लिगका लागि दर्ता गर्न साेमबार बिहान मात्र पत्र पठाएको छ।