रोशनी झाको शंकास्पद मृत्यु : हत्या वा आत्महत्या ?

माइती पक्षद्वारा न्यायको लागि लगातार धर्ना
मंसिर २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
रोशनी झाको शंकास्पद मृत्यु : हत्या वा आत्महत्या ?

जनकपुर । गएको कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिका-४ कटैयाचौरीमा २७ वर्षीया रोशनी झाको शंकास्पद मृत्यु भयो । 

"प्रविधिको सही प्रयोग गरौँ: लैङ्गिक हिंसा अन्त्य गरौँ" मुल नारासहित लैंगिक हिंसाको १६ दिने अभियान विश्वभरि चलिरहेकै बेला भएको यो शंकास्पद घटनाको चर्चा अहिले जनकपुरको चोकचाैराहा र चिया पसलदेखि सरकारी कार्यालयसम्म छ । राति घरमै मृत फेला परेकी रोशनीको आखिर हत्या हो कि आत्महत्या ?

घाँटीमा पासो लगाएर रोशनीले आत्महत्या गरेको ससुराली पक्षको दाबी छ भने माइत पक्षले घरका सदस्यहरू मिलेर रोशनी हत्या गरेको गम्भीर आरोप लगाउँदै आएका छन् । घटनाको प्रकृति हेर्दा हत्या गरिएको जस्तो देखिएको र प्रमाण नष्ट गर्ने उद्देश्यले रोशनीको कपडाहरू समेत जलाइएको पीडित परिवारको दाबी छ ।

मृतकको घाँटीमा निल डाम देखिएको र किटानी जाहेरीको आधारमा प्रहरीले रोशनीका पतिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । रोशनीले झुन्डिएर आत्महत्या गरेको पोष्टमार्टम रिपोर्ट आए पनि घटना शंकास्पद रहेको र माइती पक्षको मांग अनुसार प्रहरीको विशेष अनुसन्धान ब्युरो-सीआईबीले पनि यस घटना प्रति चासो देखाएको छ । 

घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गर्दै माइती पक्ष घटना भएकै दिनदेखि लगातार धर्ना बस्दै आएका छन् भने महिला अधिकारकर्मीहरू पनि प्रहरीमाथि दबाब बढाएकी छन् । धनुषाको नगराईन नगरपालिका जटहीकी २७ वर्षिया रोशनी झाको ५ वर्षअघि धनुषाकै हँसपुर नगरपालिका परसाहीका प्रशान्त मिश्रसँग मागि विवाह भएको थियो । 

मधेश प्रदेशको नीति तथा योजना आयोगमा शाखा अधिकृतमा कार्यरत प्रशान्त र स्नातकोत्तरमा अध्यनरत रोशनीको चार वर्षिय एक छोरा र २ वर्षीया एक छोरी छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.